नेता गाउँमा : युवा खाडीको तयारीमा

हुमाकान्त पोखरेल
गुल्मी । इस्मा गाउँपालिका –४ हुलका २० बर्षिया मधु दर्लामी रोजगारीको लागि साइप्रस जाने तयारीमा छन् । स्यामसुम कम्पनीमा कामको लागि जान थालेका उनले बुधबार जिल्ला प्रशासन कार्यालयबाट राहदानीको लागि आवेदन भरे । ‘कात्तिकको अन्तिमतिर हिड्ने योजना छ ।’ उनले भने, ‘विदेश जानु बाध्यता हो ।’ आगामी मंसिर –४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनको लागि विभिन्न दलका नेताहरु गाउँ छन् । तर दर्लामीलाई भने चुनावको कुनै उत्साह छैन । ‘भोट दिनेभन्दा पनि काम ठुलो कुरा रहेछ ।’ उनले भने, ‘नेता निर्वाचनसम्म मात्रै हो, हामीले भोट दिनु र नदिनुको कुनै अर्थ छैन ।’
मुसिकोट नगरपालिका –८ का २८ बर्षिय बल बहादुर छन्त्याललाई पनि चुनावको कुनै रौनक छैन । नेताहरु भोट माग्दै गाउँ पसिरहेका बेला उनी भने राहदानी बनाउन सदरमुकाम आएका छन् । राहदानी बनेलगत्तै उनी खाडी मुलुक जाने तयारीमा छन् ।
दर्लामी र छन्त्याल मात्र होइन्, मुसिकोट नगरपालिका –८ का रेशम घर्ती मगर पनि खाडी मुलुक जाने तयारीमा छन् । २६ बर्षिय मगरले गत निर्वाचनमा मतदान गरेका थिए । तर हालसम्म पनि बेरोजगार नै भएपछि उनले विदेश जाने योजना बनाए । ‘विदेश जाने रहर होइन्, बाध्यता हो ।’ मगरले भने, ‘गाउँमा कुनै सम्भावना देखिएन ।’ नेतालाई जतिपटक भोट राखेपनि कुनै उपलब्धि नभएको मगरको भनाई छ । ‘विगतका निर्वाचनमा पनि नेता जिताउन धेरै दुःख गरियो, तर कुनै वास्ता गरेनन् ।’ उनले भने, ‘अब भिसा आउनासाथ विदेश जाने तयारीमा छु ।’ अबको निर्वाचनमा जसले जितेपनि रोजगारी सिर्जना गर्नेगरी कार्यक्रम संचालन गर्न मगरको सुझाव छ ।

राहदानी बनाउनेको लाइन

उल्लेखित पात्र त राहदानी बनाउने केही प्रतिनिधि मात्रै हुन् । दसैँको सुरुवाती दिनदेखि हालसम्म जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको भीड लागेको छ । अहिले निर्वाचनले गर्दा नेता गाउँमा छन् । तर बेरोजगारीका कारण युवा खाडी जाने तयारीमा छन् । जिल्ला प्रशासन कार्यालय, गुल्मीका अनुसार दसैँपछि पछिल्लो १० दिनको अवधिमा ६५० जनाले राहदानीको सेवा लिएका छन् । जसमध्ये ५० प्रतिशतको उदेश्य वैदेशिक रोजगारी रहेको प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौड्यालले जानकारी दिए ।

३० प्रतिशतले अध्ययन र २० प्रतिशतले घुमघाम एवम् अन्य प्रयोजनको लागि राहदानी बनाउने गरेको पौड्यालले बताए । पछिल्लो १० दिनमा औषत ६५ जनाले राहदानीको लागि आवेदन दिएका छन् । राहदानी बनाउनेको अत्याधिक भीड भएपनि जिल्ला प्रशासनले बिहीबार र शुक्रबार नयाँ टोकन नै वितरण गरेन । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले राहदानीको लागि टोकन लिन आइतबार आउन आग्रह गरेको छ ।

नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले नागरिकको आधारभूत आवश्यकताको परिपूर्ति र बेरोजगारीको अन्त्य राजनीतिक दलको एजेण्डा नै नभएको प्रतिक्रिया दिए । ‘दलहरु सत्ताकेन्द्रित राजनीतिमा लिप्त भए, यही नेतृत्वबाट समस्याको समाधान हुँदैन ।’ उनले भने, ‘दलीय व्यवस्थाको दुरुपयोग भएको छ ।’ स्वदेशमै रोजगारीको सिर्जनाका लागि राजनीतिक दलहरु सच्चिन आवश्यक रहेको पाण्डेको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा