डडेल्धुरामा देउवाविरुद्ध एमाले-बीपी कांग्रेस एकजुट

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा नेकपा एमाले र बीपी कांग्रेस एक जुट भएका छन् । एमालेका उम्मेदवारसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएर देउवाविरुद्ध एक जुट भएका हुन् ।

प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ । एमालेका स्नेहीसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए ।

उनका अनुसार प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गरेका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभातर्फ एमाले उम्मेदवार स्नेही, स्वतन्त्र उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै प्रदेशसभा (क) मा नेपाली काँग्रेस बीपीका गणेश जोशी र प्रदेश सभा (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधि सभातर्फ तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

देउवासँगै प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी उम्मेदवार बिक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार रहेका छन् ।

नेकपा एमालेको केन्द्रिय समितिबाट फिर्ता लिने भनिए पछि स्नेहीको उम्मेदवारी फिर्ता लिईएको एमाले डडेल्धुरा समिति सचिव गजेन्द्रबहादुर शाहीले बताए । यसअघि पनि एमालेले उम्मेदवारी नदिएपछि एमालेका नेता बिक्रम शाहीले उम्मेदवारी दर्ता गराएका थिए ।

दुई वटा प्रदेशसभा क्षेत्रमा अब १२ जना उम्मेदवार रहेका छन । सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेश (क) मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र (ख) मा नेपाली काँग्रेसका गोविन्दराज बोहराको उम्मेदवारी छ ।

नेकपा एमालेबाट प्रदेश (क) मा पठानसिंह बोहरा र (ख) मा गजेन्द्र शाही, प्रदेश (ख) मै नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवार डा. तारा जोशीको उम्मेदवारी छ । प्रदेश (क) मा राप्रपाबाट पदमराज जोशी, स्वतन्त्र महेश धामी र धनबहादुर बोहराको उम्मेदवारी छ । प्रदेश (ख) मा राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको उम्मेदवारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा