गुल्मी, १५ मंसिर . प्रायजसो निर्वाचनमा विजेता मात्रै मतदातालाई धन्यवाद् दिन पुग्ने गर्दछन् । तर गुल्मीको क्षेत्र नम्बर २ मा भने पराजित उम्मेदवार पनि मतदातालाई धन्यवाद् दिनको लागि गाउँ पुगेका छन् ।
क्षेत्र नम्बर २ मा संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्री, प्रदेश ‘ख’ मा गठबन्धनबाटै माओवादी केन्द्रका उम्मेदवार बुद्धि जिसी लगायतका गठबन्धनमा आवद्ध दलका नेता मतदातालाई धन्यवाद् दिन गाउँ पुगेका हुन् । सबै ठाउँमा झाँक्री र जिसी पुगेका छन् भने अन्य नेताहरु अनुकुल स्थानहरुमा उपस्थित भएका छन् ।
हालसम्म मदाने र धुर्कोट गाउँपालिकाका सबै वडाहरु अर्थात १४ वटै वडामा धन्यवाद् कार्यक्रम सम्पन्न गरिएको छ । ‘निर्वाचनको पराजयपछि मतदातामा रहेको निराशा हटाउन गाउँमा छौँ, धेरैले सहानुभूति प्रकट गर्नुभएको छ ।’ माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका जिसीले भने, ‘मतदातालाई भेट्दा पराजयको महसुस नै भएको छैन ।’ आफुहरुले निर्वाचनको मतपरिणम स्वीकारिसकेको र अबको पाँच बर्ष सत्ताबाहिर रहेर नै निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्न लाग्ने जिसीको भनाई छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार झाँक्रीले निर्वाचनको परिणम जे आएपनि राजनीति समाजको सकारात्मक रुपान्तरणका लागि गरेकोले आफु सधै जनतामाझ नै हुने प्रतिवद्धता व्यक्त गरिन् । शुक्रबारबाट मालिका गाउँपालिकामा धन्यवाद् कार्यक्रमको आयोजना गरिएको छ