ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सन्ताेष महतरा, गुल्मी ।                                                 २३ मंसिर । सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय नेपालमा सत्य पत्ता लगाउनको लागि तरबारले ढुंगा काटिएको थियो भनेर । तर, यो सत्य पत्ता लगाउनको लागि गुल्मीमा भएको सत्य घटना हो । झण्डै ७ सय वर्ष अगाडि वा १४औं शताब्दीको अन्त्यतिर तरबारले ढुंगा काटिएको साक्षी तत्कालीन श्रृङ्गे राज्यअन्तर्गतको बम्घाकोट हो । यो अहिले गुल्मीको रूरूक्षेत्र गाउँपालिका–६ रिमुवामा पर्दछ । जहाँ अहिले पनि तत्कालीन समयका भाला, तरबार र अन्य पुराना समान रहेको बम्घाकोट पर्यटकीय विकास तथा संरक्षण समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए । मानव सभ्यताको विकाससँगै मानवले मानवमाथि शासन गर्ने क्रममा बाइसे चौबिसे राज्यअन्तर्गत श्रृङ्गे राज्यअन्तर्गतको बम्घाकोट राजा बस्ने स्थान थियो । राज्य एकीकरणको समयमा पाल्पाको तानसेन राज्यका राजा मणिमुकुन्द सेन गोरखाका राजासँग मिलेर गुल्मीको चारपाला राज्य एकीकरण गर्न आउँदा बम्घाकोटमा बसेका थिए । मीना र काली गरी दुई रानीसँग बम्घाकोट बसेका राजा चारपाला दरबार एकीकरणका लागि गए । रानी मिना र कालीमध्ये मिना निकै शक्तिशाली थिइन् । राजा जब लडाइँमा गए, त्यसपछि रानी मिनाले नजिकै रहेको शिलादेवी मन्दिरमा तपस्या गरिन् । लडाइँमा गएका राजा लामो समयसम्म नफर्किएपछि रानी मिनाले शिलादेवीसँग कबोल गरिन् । आफूसँग भएको तरबार हातमा लिएर नजिकै रहेको ठूलो ढुंगालाई देखाउँदै रानी मिनाले कबोल सुरू गरिन् । यदि राजा युद्धमा लडाइँ जितेर बाँचेर फकिँदै भए तरबारले ढुंगा काटिने छैन, उल्टै तरबार भाँचिने छ । यदि युद्धमा राजाले हारेर मरेको भए तरबारले ढुंगा एकैचोटमा काटिने छ ।       आफ्नो राजालाई केही नहोस् भनेर असम्भव कुरा आफूतिर राखेर दुई कबोल मिनाले गरेकी थिइन् । मिनाले तरबारले ढुंगा काट्दा ठूलो ढुंगा पनि एकैचोटमा काटियो । तरबार केही पनि भएन । यसरी रानीले असम्भव मानेर कबोल गरे पनि तरबारले ढुंगा काट्न सम्भव भयो । सत्य पत्ता लगाउन गरिएको कबोल सम्भव भएपछि राजा युद्धबाट कहिल्यै फर्किएनन् । रानी मीनाले आफ्नो राजा मरेको विश्वास गर्न बाध्य भइन् ।  सत्य पत्ता लगाउन रानीले काटिएको ढुंगा अहिले संरक्षण गरेर राखिएको छ । जुन १४औं शताब्दीको साक्षी रहेको रिमुवाका अगुवा स्थानीय दुर्गाप्रसाद गौतमले जानकारी दिए । अग्लो स्थानमा भएकोले चिसो हावा चल्ने हुँदा त्यहाँ राजाको गादी भनेर राजालाई घाम ताप्ने स्थान पनि बनाइएको थियो । उक्त स्थानलाई इतिहासको साक्षीका रूपमा संरक्षण गरिएको गौतमले बताए । उक्त स्थानमा अहिले स्थानीय तथा त्यहाँ पुग्ने पर्यटकहरूले फूलहरू चढाएर पूजा गर्ने गर्दछन् । चैते दसैं, बडा दसैं र न्वागीको समयमा मेला लाग्ने बम्घाकोट धार्मिक महत्वको क्षेत्र रहेको बम्घाकोट पर्यटकीय विकास तथा संरक्षण समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।    बम्घाकोटलाई पर्यटकीय हब बनाएर अगाडि बढाउन रूरूक्षेत्र गाउँपालिकाको उच्च प्राथमिकता रहेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । “हामीले ऐतिहासिक क्षेत्र बम्घाकोटको विकासका लागि डीपीआर तयार गर्दैछौं,” अध्यक्ष ज्ञवालीलले भने, “तत्कालका लागि मन्दिर परिसरको व्यवस्थापन र संरक्षणमा २० लाख छुट्ट्याएका छौं ।” बम्घाकोट बृहत् विकासका लागि यसवर्ष डीपीआर तयार गरेर काम अगाडि बढाउने गाउँपालिका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।                                       स्राेत : काराेबार

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा