spot_imgspot_img

निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय लाभाम्वित

हुमाकान्त पोखरेल
गुल्मी, ०२ पौष । चन्द्रकोट गाउँपालिका –१ का दधिराम खरेलले शुक्रबार बिहानै श्रीमती हरिकलालाई लिएर चन्द्रकोट गाउँपालिकाको कार्यालय, शान्तिपुर पुगे । उनी त्यहाँ गाउँपालिकाको कुनै सेवा लिन भने गएका होइनन् । श्रीमतीलाई मुटुसम्बन्धि रोग लागेका कारण उनी जाँच गराउन गाउँपालिकाको कार्यालय पुगेका हुन् । गाउँपालिकाले कार्यालयमै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । सोही मौकामा उनले श्रीमतीलाई जाँच गराए । ‘मुटुको जाँच गराउन काठमाडौ जाने योजना थियो ।’ उनले भने, ‘गाउँमै मुटुजाँचसहितको शिविरको आयोजना भयो, अब बाहिर जानुपरेन ।’ औषधी खर्चबाहेक काठमाडौ जान–आउन मात्रै कम्तिमा २० हजार लाग्ने भएकोले उक्त रकम र समयको बचत भएको खरेलले बताए ।
शान्तिपुरकै दीपा खरेललाई स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि शिविरमा पुगिन् । उपचारका लागि बुटबल जाने योजनामा रहेकी उनी गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेपछि खुसि भइन् । ‘गाउँपालिकाले शिविरको आयोजना गरेर राम्रो भयो, गाउँमै सेवा लिन पाइयो ।’ उनले भनिन्, ‘बुटबल जाने–आउने समय र पैसाको बचत भएको छ ।’
दधिराम र दीपा त निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिने उदाहरण मात्रै हुन् । शिविरबाट उनीहरुजस्तै एक हजार ६२३ जना लाभाम्वित भए । गाउँपालिकाले शुक्रबार र शनिबार स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा एक हजार १०६ पुरुष र ५१७ जना महिलाले सेवा लिएका छन् । शिविरको लागि चन्द्रकोट गाउँपालिकाले तीन लाख बिनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिए । त्यसका साथै स्वास्थ्य कार्यालय, गुल्मीको पनि प्राविधिक सहयोग गरेको ज्ञवालीले बताए । दुई दिने शिविरमा मुटु, गाइनो, आँखा, मृगौला, पाठेघर जाँच लगायतको रोगको जाँच गरिएको थियो । सेवा लिनको लागि गाउँपालिकाका सबै वडाका साथै बाग्लुङ्गको बरेङ्ग लगायतका पालिकाबाट समेत नागरिक शान्तिपुर आएको गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले जानकारी दिए । शिविरबाट बिरामीहरुले निःशुल्क औषधी पनि प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष युवराज केसीले गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार नै स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । ‘आधारभूत स्वास्थ्य सेवाको व्यवस्था संविधानले नै गरेको छ ।’ अध्यक्ष केसीले भने, ‘सोहीअनुसार हामीले नीति कार्यक्रम बनायौ र अहिले त्यसैलाई कार्यान्वयन गर्दैछौ ।’ त्यसका साथै उनले पालिकाभित्रका स्वास्थ्य संस्थाको स्तरोन्नती, कर्मचारी व्यवस्थापन लगायतका बिषयमा गाउँपालिकाले काम गरिरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा