रेसुङ्गा बिमानिस्थलमा आइतबार हुने परीक्षण उडानको तयारी पुरा

हुमाकान्त पोखरेल, गुल्मी
पौष २३ । रेसुङ्गा नगरपालिका –१० मा अवस्थित रेसुङ्गा बिमानिस्थलमा आइतबार हुने परीक्षण उडानका लागि आवश्यक सबै तयारी सकिएको छ । बिमानिस्थलमा आवश्यक सुरक्षा व्यवस्था, बिमानिस्थलसम्म पुग्ने सडक लगायतको तयारी पुरा भएको हो ।

शनिबार रेसुङ्गा नगरपालिकाको कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, सम्बन्धित विभिन्न संघ–संस्थाका प्रमुख लगायतको छलफलले आइतबार हुने उडानका लागि केही निर्णयहरु पनि गरेको नगरपालिकाका सूचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए ।

आइतबार बिहान ११ बजे तारा एयरको जहाज रेसुङ्गा बिमानिस्थल आउँदैछ । जहाजमा गुल्मी –१ का सासंद चन्द्र भण्डारी, २ का सासंद गोकर्ण विष्ट, गुल्मी –१ ‘क’ का सासंद चिन्तामणी पाण्डे, एमाले नेता प्रदिप ज्ञवाली, एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्री आउने कार्यक्रम छ ।

त्यस्तै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, माओवादी केन्द्र, गुल्मीका संयोजक बुद्धि जिसी, पर्यटन व्यवसायी योगराज कडँेल सहित नागरिक उड्ययन प्राधिकरण र चालक दलका सात सदस्य आउने बताइएको छ भने गुल्मी २ ‘क’ का सासंद डिल्लिराज भुसाल पनि कार्यक्रममा उपस्थित हुने नगरपालिकाले जनाएको छ ।

निर्माण सम्पन्न भएको लामो समयपछि बिमानिस्थलमा परीक्षण उडान हुन लागेको हो । जहाज बिमानिस्थलमा करिब एक घण्टा रहनेछ । परीक्षण उडान हुने अवसरमा नगरपालिकाले आइतबारका सबै सेवा बन्द गरेको छ । शनिबार प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले एक सूचना जारी गर्दै तारा एयरलाइन्सबाट परीक्षण उडानको कार्यक्रम तय गरिएकोले दिनभर नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द हुने जानकारी गराएका हुन् ।

बिमानिस्थल निर्माणका लागि हालसम्म ३७ करोडभन्दा बढी खर्च भइसकेको छ । तर अझैपनि नियमित उडानमा भने शंका नै छ । ०७४ सालमै बिमानिस्थलमा धुले उडान भएपनि नियमित उडान भने हुन सकेन । नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर दिनेश परियारले आफुहरुले संरचना निर्माणको काम पुरा गरेको तर नियमित उडानका लागि जिल्लाका माननियहरुले पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा