हुमाकान्त पोखरेल
गुल्मी, २५ पौष । बिमानिस्थल निर्माणको काम सुरु भएको १६ बर्षपछि ‘रेसुङ्गा बिमानिस्थल’ मा परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका –१० सिमिचौरमा रहेको बिमानिस्थलमा परीक्षण उडान अर्थात डेमोस्टे«शन उडान गरिएको छ । आइतबार तारा एयरको ‘९ एन्–ए–एलओ कल साइन’ रहेको ट्विनेटर जहाजले सफल परीक्षण उडान गरेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानिस्थलबाट बिहान ११ ः १४ बजे उडेको जहाज ४७ मिनेटपछि रेसुङ्गा बिमानिस्थलमा अवतरण भएको थियो । जहाजलाई तारा एयरका बरिष्ठ चालकद्धय क्याप्टेन सन्तोषकुमार शाह र सन्जिव श्रेष्ठले उडाएका थिए । नेपाल नागरिक उड्ययन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपनि परीक्षण उडान गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । जहाज करिब एक घण्टापछि काठमाडौ फर्किएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गुल्मी –१ का सासंद चन्द्र भण्डारीले जिल्लामा पहिलोपटक निर्माण सम्पन्न बिमानिस्थलमा परीक्षण उडान सम्पन्न भएकोमा जिल्लाबासीलाई बधाई दिए । त्यसका साथै उनले बिमानिस्थललाई परीक्षण उडानसम्म ल्याउन सहयोग गर्ने राजनीतिक दल, रेसुङ्गा नगरपालिका लगायत सम्बन्धित सबैलाई धन्यवाद् दिए । नेकपा एमालेका उप–महासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले समयमा गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि जहाज निकै महत्वपूर्ण हुने बताए । उनले आफु परराष्ट्रमन्त्री हुँदा शिलन्यास गरेको बिमानिस्थलमा ढिलै भएपनि परीक्षण उडान भएकोमा खुसि व्यक्त गरे । एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले अब नियमित उडान गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताइन् ।
निर्माण सुरु भएको १६ बर्षपछि परीक्षण उडान
निर्माण सुरु भएको १६ बर्षपछि रेसुङ्गा बिमानिस्थलमा सफल परीक्षण उडान सम्पन्न भयो । बिमानिस्थलको काम ०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदीप ज्ञवालीको पहलमा सुरु भएको थियो । ३४ करोडभन्दा बढी लगानी भएको बिमानिस्थलको लम्बाई ५२० र चौडाई २० मिटर रहेको छ । समुद्र सतहदेखि एक हजार ५२६ मिटर उचाईमा रहेको बिमानिस्थलले कुल १५६ रोपनी क्षेत्रफल ओगटेको छ । यसअघि बिमानिस्थलमा ०७५ जेठ २५ गते धुले उडान गरिएको थियो ।
नियमित उडान हुनेमा शंका
झण्डै साढे चार बर्षअघि बिमानिस्थलमा परीक्षण उडान भएपनि नियमति उडान भने हुन सकेन । अहिले पनि बिमानिस्थलको काम सम्पन्न भएको झण्डै एक बर्षपछि मात्र परीक्षण उडान भयो । जसले गर्दा नियमित उडान हुनेमा धेरैले शंका व्यक्त गरेका छन् भने नियमति उडान हुनुपर्नेमा नागरिकले जोड दिएका छन् । ‘बिमानिस्थलमाथि थुप्रैका आशा र भरोसा जोडिएका छन्, स्थानीयको रोजिरोटी पनि जोडिएको छ ।’ स्थानीय दीपक अर्यालले भने, ‘अब नागरिकलाई झुक्याउने मात्र होइन, नियमित संचालन हुनुपर्छ ।’ जहाज हेर्न पुगेका मुसिकोट नगरपालिकाका प्रकाश चालिसेले बिमानिस्थलबाट नियमित उडान भएमा जिल्ला बासीलाई धेरै सहज हुने बताए । त्यसका साथै उनले जिल्लामा पर्यटन भित्राउन पनि बिमानिस्थलले भूमिका खेल्ने बताए ।
नियमित उडान गर्ने प्रयासमा सरकार
नागरिकस्तरबाट नियमित संचालनको दबाव र अनेक शंका व्यक्त भइरहदा सम्बन्धित निकायले भने नियमित उडान गर्नेगरी प्रयास गरेका छन् । १८ सिट क्षमता हुने ट्विनेटर जहाजको नियमित उडानका लागि रेसुङ्गा नगरपालिकाले पहलकदमी लिएको छ । हप्तामा एक पटक उडान गर्ने र त्यसमा कम्तिमा ११ यात्रु नपुगे अपुग यात्रुको लागत नगरपालिकाले व्यहोर्नेगरी पनि तयारी भइरहेको छ । नगरप्रमुख खिलध्वज पन्थीले नियमित उडानका लागि नागरिक उड्ययन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेको हुँदा केही समयभित्रै नियमति उडानको लागि आफुहरु लागेको बताए ।