रुपन्देही, १० माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, चन्द्रौटा कपिलवस्तुमा विविध कार्यक्रम गरी सोमबार सशस्त्र प्रहरी दिवस मनाइएको छ । दिवसको पूर्वसन्यामा कपिलवस्तु शिवराज नगरपालिका –५ स्थित दुर्गा मन्दिर र ३ स्थित स्वर्गद्धारी मन्दिर परिसरमा सरसफाई गरिएको थियो ।
त्यस्तै २२ औँ सशस्त्र प्रहरी दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी बुटबलसँगको समन्वयमा बिन्ध्यावासिनी बाहिनी परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जसमा ५६ सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवक कर्मचारीहरुका परिवार तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, विरगति प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारका लागि कोहलपुर स्थित सशस्त्र प्रहरी क्षेत्रिय स्कुलमा स्वास्थ्य शिविर संचालन गरिएको थियो । शिविरमा १२२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दिवसकै अवसरमा व्याडमिन्टन, १०० मिटर र ३०० मिटर दौड, म्युजिकल चियर जस्ता बिभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरी उत्कृष्ठलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।
वीरगति प्राप्त गरेका अमर सशस्त्र प्रहरीका परिवारहरुलाई दोसल्लाले सम्मान गरिएको थियो । उत्कृष्ट हुने ईकाईहरुलाई प्रशंसा पत्र प्रदान, बाहिनी तथा मातहत कार्यालयमा विभिन्न क्षेत्रहरु स्टाप डिउटी, अप्रेशनल कार्य, बिपद् उद्धारहरुमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप प्रसंशा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले कार्यक्रममा उपस्थित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरे । सीमा सुरक्षार्थ बोर्डर आउट पोष्टहरुको तिब्र रुपमा स्थापना, लागुऔषधको ठुलो परिणाम बरामत, अवैध हात–हतियार बरामत लगायतका क्रियाकलापहरुको सुक्ष्म निगरानी गरी नियन्त्रण गर्न समेत सुवेदीले निर्देशन दिए ।