वडा कार्यालय, प्रहरी चौकी र खेलमैदानको लागि जग्गा प्रदान

हुमाकान्त पोखरेल
गुल्मी, १८ माघ । गुल्मीमा वडा कार्यालय, प्रहरी चौकी र खेलमैदान निर्माणको लागि जग्गा प्रदान भएको छ । धुर्कोट गाउँपालिका –३ हाडहाडेको वडा कार्यालय, हाडहाडे अस्थायी प्रहरी चौकी र खेलमैदान निर्माणको लागि स्थानीयले निःशुल्क रुपमा जग्गा प्रदान गरेका हुन् । वडा कार्यालय निर्माणको लागि सुनपोखरी डाडोमा तीन रोपनी जग्गा प्राप्त भएको छ । स्थानीय लिला सुनार, जुनी विक, मुम बहादुर विक र राम बहादुर सुनारले जग्गा प्रदान गरेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । अहिले टिनको छाप्रोबाट वडा कार्यालयको कार्य सम्पादन हुँदै आएको छ ।

अस्थायी प्रहरी चौकी निर्माणको लागि यम बहादुर घर्ती मगर, चुरा बहादुर घर्ती मगर र छविलाल घर्ती मगरले चार रोपनी जग्गा प्रदान गरेका छन् । हाडहाडेमा गत कात्तिकमा स्थापना भएको अस्थायी प्रहरी चौकीले हाल पुरानो स्वास्थ्य चौकीबाट काम गरेको छ । पाँच जना दरबन्दी रहेको चौकी चार रोपनी जग्गामा अब पुनटोलामा बन्नेछ । खेलमैदान निर्माणको लागि स्थानीय रुम कुमारी विष्टले छ रोपनी जग्गा दिएकी छिन् । उनले स्व. श्रीमान भेग बहादुर विष्टको नाममा बर्दबासमा जग्गा दिएकी हुन् । तीनवटै जग्गाको नक्सा समेत छुट्टाइएको र अब नामसारीको प्रक्रियामा रहेको वडाध्यक्ष विष्टले बताए । नामसारीसँगै भवन निर्माणको काम पनि अगाडी बढ्ने वडा कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा