गुल्मी, २४ माघ ।
मालिका गाउँपालिकाले आयोजना गरेको मोतियाबिन्दुको निःशुल्क आँखा शिविरमा मंगरबार ४२ जनाको शल्यक्रिया गरिएको छ । मंगलबार शिविरको पहिलो दिन ४२ जनाको शल्यक्रिया र १९७ जनाको आँखा चेकजाँच गरेको स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।
पालिकाले गत हप्ता सबै वडामा आँखाको चेकजाँच गरी शल्यक्रिया गर्नुपर्ने बिरामीको तथ्याङ्क संकलन गरेको थियो । सोही तथ्याङ्कका आधारमा वडा नम्बर ४ अर्खबाङ्गमा मंगलबार र बुधबार निःशुल्क शल्यक्रियाको आयोजना गरिएको हो । शिविरमा डाक्टर सचिन पुनले शल्यक्रिया गरेका छन् । शल्यक्रिया गर्ने बिरामीलाई घरदेखि स्वास्थ्य केन्द्रसम्म यातायातको व्यवस्था पालिकाले गरेको छ । ७० बर्षभन्दा माथिका दुई सय भन्दा बढी बिरामीलाई निःशुल्क चस्मा वितरण र लाभग्राही सबैलाई निःशुल्क औषधी वितरण गरिएको छ । त्यसैगरी शल्यक्रिया गर्ने बिरामीलाई पालिकाको सभाहलमा आवासको समेत व्यवस्था गरिएको भुसालले बताए । गाउँपालिका अध्यक्ष देविराम अर्यालले निर्वाचनमा गरेको बाचा पुरा गर्नेतर्फ उन्मुख रहेको बताए । ‘चुनावमा गरेका प्रतिवद्धता पुरा गर्ने अभियानमा दृढ छौ ।’ उनले भने, ‘नागरिकको स्वास्थ्यसम्बन्धि हकलाई प्राथमिकतामा राखेर शिविरको आयोजना गरिएको हो ।’