जीवन पोखरेल
भ्रष्ट र आचार´ दुई शब्द मिलेर बनेको भ्रष्ट्राचार शब्दले सामान्य अर्थमा सदाचार विपरीतकाे कार्य जनाउछ। विषेश गरि सार्वजनिक पद धारण गरेको व्यक्तिले व्यक्तिगत फाइदा र स्वार्थका लागि सरकारी सम्पत्ति एवम् साधन स्रोतको दुरुपयोग गर्ने कार्य भ्रष्टाचार हाे।` नियन्त्रण´ भन्नले रोक्नु ,हुन नदिनु अथवा केही हदसम्म कम गर्नु भन्ने बुझिन्छ । तसर्थ ब्यक्तिगत हकहितमा सरकारी एवम् सार्वजनिक सम्पत्ति प्रयोग गर्नबाट रोक्नुलाई भ्रष्टाचार नियन्त्रण भन्ने बुझिन्छ।
त्यसै गरी `सु र शासन´ मिलि बनेको सुशासन शब्दले सामान्य अर्थमा असल शासन भन्ने बुझिन्छ।जनताद्वारा रुचाइएको ,लोककल्याणकारी , सरकारका कामहरू, पारदर्शी, चुस्तदुरुस्त एवम् प्रभावकारी ढङ्गले संचालन हुनु नै सुशासन हो । प्रवर्द्धन भन्नाले प्रोत्साहन गर्नु, बढवा दिनु,वा प्रेरणा गर्नु भन्ने बुझिन्छ ।नैतिक ढङ्गबाट न्याय पुर्ण तरिकाले सरकारी सेवाहरु संचालन हुन बढवा दिनुलाई सुशासन प्रवर्द्धन भनिन्छ । यी दुई कुरा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धनमा हामी सबैको उत्तरदायित्व ठानेको छु।
बर्तमन सन्दर्भमा केही राष्ट्रहरुकाे उन्नति ,प्रगति र गरिमा हेर्दा ती राष्ट्रको राज्य संचालनको बिधि, पद्धति र प्रक्रिया प्रभावकरी ढंगबाट हुन सकेको र त्यसैको फलस्वरूप राष्ट्र विकसित हुन पुगेको हो जस्तो मलाई लाग्छ ।यसको पछाडी कम्तीमा दुई मुल कारण हुन सक्छन् ती हुन “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन”। यी दुई पक्षको सबल र सफल संचालन हुने हो भने पक्कै पनि हाम्रो देश नेपाल पनि विकसित राष्ट्र हुन्थ्यो । अमेरिका ,जापान ,बेलायत ,अस्ट्रेलिया र स्विजर्ल्याण्ड जस्तो तीब्र बिकास र प्रगति भएको देश नेपाल हुने थियो। अन्य देशमा बिकासले फड्को मारिसक्दा नेपालमा पनि भ्रष्टाचार नियन्त्रण गरेर, सुशासन कायम गरेर देशमा अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्छ । आजका विद्यार्थीहरु सपना बुन्छ्न त केवल विदेश जाने! यो कस्तो विडम्बना हो ।अरे देश डुबिसक्यो ,भ्रष्टाचारले जरा गाडिसक्यो। देश उथल पुथल बनिसक्यो। तर भ्रष्टाचार रोक्ने हिम्मत सबैमा आएन।हामीले खबरदारी गर्नुपर्छ र असल र सचेत नागरिकको हैसियतले सबैले यसमा ध्यान दिनु जरुरी ठान्दछु।
यदि आफ्नो मुलुकलाई साच्चिकै सुखी र समृद्धि बनाउने हो भने म सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्दछु कि हामी “सबैले जिम्मेवार बोध गरौं समृद्ध राष्ट्र निर्माणमा एक जुट हौं” । अन्य राष्ट्र विकसित छ्न त त्यहाँका जनताको साथ सहयोग र माया पाएर हो । हामिले हाम्रो राष्ट्रप्रती पनि सद्भाव राख्न सक्यौ भने देशमा प्रगति भएको देख्न चाहने हो भने हामी सबै एक जुट भइ लाग्नुपर्छ । देशमा बिकराल समस्याको रुपमा रहेको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याक्न सक्नुपर्छ ।सुशासनमा जोड दिनुपर्छ । कुनै पनि ब्यक्तिले आफ्नो ब्यक्तिगत फाइदा हुनेगरी सार्वजनिक सम्पत्ति हिनामिना गर्ने, कमिसन लिने, राजस्व चुहावाट गर्ने ,गलत लिखत तयार पार्ने,सरकारी कागजात सच्याउने ,झुट्टा विवरण दिने, गैरकानुनी ब्यापार व्यावसाय गर्ने,गलत प्रतिवेदन दिने आदि सबै भ्रष्टाचारका उदाहरण एवं कसुरहरु हुन् ।
यी सबै फोहोरी कामहरूलाई सच्याउन सकेमा ,कर्मचारी तन्त्रलाई सफल र सक्षम बनाउन सकेमा देशले विकासको काँचुली फेर्ने थियो। त्यसैले पनि भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । त्यस्तै सरकारी काममा झन्झट झमेला दिने ,अल्छी गर्ने ,समयमा उपस्थित नहुने,अनैतिक बन्न्ने ,काम समयमा नगर्ने,अन्याय गर्ने यी सबै सुशासनका बाधक तत्व हुन् ।यिनलाई रोक्न पारदर्शिता ,नैतिकता ,जिम्मेवारिता अवलम्बन गर्न प्रोत्साहन गर्नुपर्छ। हाम्रो देशमा भ्रष्टाचार नियन्त्रणका लागि कानुन नबनेका होइनन् ।संबैधानिक निकायका रुपमा अख्तियर दुरुपयोग अनुसन्धान आयोग ,भ्रष्टाचार निवारण ऎन २०५९ आदि प्रमुख कानुनी स्रोत हुन् ।
यी कानुनहरुले पनि भ्रष्टाचार नियन्त्रण गर्न अग्रणी भुमिका खेल्दै महत्त्व दर्शाएको पाइन्छ ।
भ्रष्टाचार सुचकाङ्क 2021 अनुसार नेपाल विश्वमा 117 औं स्थानमा रहेको पाइन्छ। त्यस्तै सन् 1990 बाट विश्व बैंक र सुशासनको अवधारणा विकास गरेको पाइन्छ ।नेपालमा सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 कार्यान्वयनमा रहेको छ ।यो ऐनले राष्ट्र र जनताको हित, समावेशीकरण, मानवअधिकारको प्रत्याभूति ,कानुनको शासन, बिधिको शासन पारदर्शीता ,वस्तुनिष्ठता ,जवाफदेहिता, इमान्दारिता, जन सहभागिता ,जस्ता कुराहरुमा जोड दिएको पाइन्छ ।नीतिनियम नै खडा भइसकेका हुनाले सफल कार्यान्वयनका लागि हामी सबै एकताबद्ध भई लाग्नु पर्दछ।
मौलाउदै गएको बढ्दो भ्रष्टाचारले हामीलाई बाधा सिर्जना गरेको छ ।देश विकासमा अवरोध खडा गरेको छ ।राष्ट्र प्रगतिबिहिन बन्न पुगेको देखिन्छ। हुनत यसमा विभिन्न कारणहरू होलान् उचित सेवा सुविधा र तलबको कमी र बढी पैसा कमाउने प्रलोभनले पनि भ्रष्टाचार मौलाएको होला। रातारात धनी हुने सपना देख्नाले देश विकासमा बाधा पुगेको हुनसक्छ। यस्ता नकारात्मक सपनाले हामी सबैलाई असर पुर्याएको पाइन्छ ।जनताको काम सिधै आज हुन्न भोलि आउनुहोस् पछि गरौंला यो मिलेन ऊ मिलेन भनी बेकारमा पनि दुःख दिनाले दुईचार पैसाको आशामा लोभमा पर्नाले सरकारी सेवा प्रदान गर्ने स्थल नै जनताको तर्फबाट निराश लाग्दो र टिठ लाग्दो बन्न गएको पाइन्छ। मान्छेहरु तछाडमछाड गर्दै त भन्दा म के कम ? भन्दै दुईगुना रात चौगुनाको दरले कमिसन भुसखोरी बढेको छ।
यसले देशको अर्थतन्त्र त डामाडोल नै पारेको छ। प्रत्येक नेपालीको टाउकोमा ऋणको थुप्रो लागेको छ। विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत् र खानेपानी यी सबैमा टेन्डर आव्हान गरिन्छ ,ठेक्का दिइन्छ तर एक वर्षमा गर्ने भनेको काम पाँच वर्ष लगाइन्छ तैपनि काम सम्पन्न हुँदैन। बीचैमा दलाली गरिन्छ, कमिसन लिइन्छ र घाटामा गयो भनी काम ठप्प पारिन्छ। जसको उपहार लाखौंको संख्यामा युवाहरु देशमा रोजगार नपाई विदेशमा पलायन हुनुपर्ने बाध्यता छ ,विवशता छ। बिडम्बना पसिनाको खोलो बगाई बिदेशमा मेहेनत गरेको रकमले यहाँको अर्थतन्त्र धानेको छ विप्रेषण रकमले मात्रै अर्थतन्त्रमा टेवा दिएको छ। तर काम गर्ने कालु जस पाउने ठालू जस्तै अवस्थामा सिर्जना भएको छ ।काम, मेहनत र परिश्रम नगरी बसीबसी कमिसनको डिल गर्नाले विकासमा पछाडि परेको पाइन्छ हरेक वर्षको जेठ 15 गते अर्थमन्त्रीले संसदमा बजेट पेश गर्छन् थुप्रै शीर्षकमा बजेट छुट्याइन्छ ,नीति,नियम ऐन र कानूनहरु बनेका छन् तर केवल कागजको पानामा सीमित हुनपुगेका छन्।
म यसको घोर बिरोध गर्न चाहन्छु ।सरकारी बजेट झ्वाम पार्ने दलालहरु खुलेआम हिँडेको देख्दा मलाई दुःख लाग्छ। नेताका आसेपासे ठूलो मान्छेको पावर र पैसाको बलमा सुरक्षा निकाय पनि प्रभावकारी बन्न सकेको छैन ।सक्दो हो त हालसम्म निर्मला पन्त जस्ता दर्जनौ चेरिको हत्यारा पत्ता लाग्दो हो। कार्यकर्ता जुधाउने ,लडाउने आफु भने ठिक्क पारेर मिल्न सक्ने प्रतिभा भएका हाम्रो देशका नेताहरूको परिपाटी साम, दाम ,दण्ड भेद प्रयोग गरी चुनाव जित्ने, करोडौं भ्रष्टाचार गर्ने ,गाउँ बिर्सने चुनावमा मात्र आशा देखाई जाने पर्यटकको जस्तो गतिविधिले सोझा जनता झुक्किरहेकाछन् । घरमा केटाकेटी र बृद्ध बा आमा छोडेर कयौं बाबाहरु विदेश गएको टुलुटुलु हेर्नु बाहेक अरु कुनै विकल्प देखिँदैन। देश विकासका आधारस्तम्भ युवाहरु देशमै परिचालन हुन नसक्दा भ्रष्टाचार र अनियमिततालाई खबरदारी गर्ने जनशक्तिको खाँचो छ ।अब सुशासन तर्फका समस्याहरु समयमा उपस्थित नहुने, अभद्र व्यवहार गर्ने ,अनैतिक बन्ने ,नीति नियमको सीमा नाघेर काम गर्ने ,आदर भावको पालनगर्ने बिना स्वीकृति बिदा लिने वा अनावश्यक काममा अथवा व्यक्तिगत लाभको लागि नागरिकलाई हैरानी दिक्दारी पुर्याउने शिक्षा तर्फकाे कुरा गर्दा अल्छी गर्ने, कक्षामा नजाने गइहाले पनि नपढाउने हावादारी नेतृत्व गर्ने गर्नाले सुशासनमा सधै बाधा पुगेको देखिन्छ। यसरी भविष्यका कर्णधार बालबालिकाको भविष्यमाथी सोझा र सिधा नागरिक माथि खेलवाड गरिएको भेटिन्छ ।
हिसाबकिताब ठीकसँग नगर्ने ,झुक्याउने र नाफा खाने प्रवृत्तिले सोचेअनुरुप सुशासन पैदा हुन सकेन। राज्यले गरेको लगानी प्रदान गरिने सेवा सुविधामा तलमाथि गरी वितरण गर्ने वा अन्याय गर्नाले सरकारी सम्पत्तिको हिनामिना हुन पुगेको हो। बाध्यता भनौ या बिडम्बना भनौ भौतिक सेवा सुबिधा देखिए पनि काम छिटोछरितो र व्यवस्थित भएको नदेख्दा धेरैले हैरानी व्यहोर्नु परेको तितो यथार्थ छ। शिक्षा, स्वास्थ्य ,यातायात ,सञ्चार , बिद्धुत , खानेपानी यी सबैमा प्रभावकारी संयन्त्र नहुँदा विकासको मुहार फेर्न नसकेको हो।
मानिसका इच्छा चाहना र आवश्यकताहरु फरक फरक हुनसक्छन्। सोचमा पनि फरकपन पाइन्छ ।विकास भन्न जति सजिलो छ ,गर्न भने अलि गाह्रो पनि हुनसक्छ। समग्र विकास गर्न केही चुनौतीहरू त झेल्नुपर्ने हुन्छ नै तर वर्तमान नेपालको सन्दर्भमा त्यस्तो व्यक्तिको खाँचो छ जसले प्रभावकारी नेतृत्व लिन सकोस जनताका समस्याहरु समाधान गर्न सकोस् र राष्ट्र बिकाशशील बन्नपुगोस् । यसमा साथसहयोग भने सम्पूर्ण नेपाली जनताहरूको हुनुपर्छ अतः भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन गर्नको लागि केहि उपाय अवलम्बन गर्नुपर्दछ । जुन बुँदागत रुपमा उल्लेख छन्
१.बनेका निती नियम र ऐनलाई प्रभावकारी ढंगबाट संचालन गर्ने ।
२.अनियमितता र सार्वजनिक सम्पत्ति दुरुपयोग गर्नेलाई दण्ड र जरिवाना गर्ने ।
३.राष्ट्रसेवकहरुलाई असल/राम्रो काम गर्नेलाई हौसला स्वरूप उचित पुरस्कार प्रदान गर्ने ।
४.सम्पूर्ण नागरिकहरूमा असल कुराको जनचेतना जगाउने ।
५.सरकारी कार्यालयहरूको आर्थिक विवरण, प्रगति प्रतिवेदन समय समयमा सार्वजनिक भेला गरी जनता माझ प्रस्तुत गर्ने।
६.संघसंस्था वा राम्रो प्रगति गर्ने अनि कार्यालयलाइ उपहार, सम्मान प्रदान गर्ने।
७. सरकारी सेवामा प्रवेश गरेकोलाई योग्यता ,क्षमता तथा सेवाको आधारमा बिना झन्झट पदोन्नति गर्ने।
८. अस्थायी कर्मचारीलाई पनि संघ/संस्था वा संगठनमा चुस्तदुरुस्त बनाउन आवश्यक सहयोगमा गर्ने।
९.सम्पूर्ण नागरिक सचेत भइ बिना झन्झट सेवा लिने सेवा प्रदायकले सेवा उपलब्ध गराउने, नराम्रो अनैतिक काम गर्नेलाई खबरदार गर्ने ।
१०.कार्यालयबाट प्रदान गरिने सेवाबारे जानकारी दिने तथा नागरिक वडापत्र र गुनासो पेटिकालाई प्रत्येक कार्यालयमा अनिवार्य गर्ने ,व्यवस्थित गर्ने ।
११.घुस लिन र दिन सहयोग गर्ने, सल्लाह गर्ने वा प्रोत्साहन गर्नेलाई समेत कानुनी दायरामा ल्याई कडा कारबाही गर्ने ।
१२.सरकारी सेवा प्रदान गर्ने सेवकहरूको तलब भत्ता वृद्धि गर्ने ।
१३.राजश्व चुहावट रोक्ने ,गैरकानुनी व्यापार व्यवसाय गर्ने नागरिकलाई समेत कानुनी दायरामा ल्याउने।
१४. सबैले सबैसँग शिष्ट र नम्र भाषा प्रयोग गर्ने ।
१५.नीति ,नियमबनाई सञ्चालन र कार्यान्वयनमा जोड दिने।
मेरो निजी विचारमा माथिका उपायले मागै पुग्दैन होला। मलाई लाग्छ कानुन बनेर मात्रै हुँदैन सही ढङ्गबाट सञ्चालन र कार्यान्वयन महत्वपूर्ण कुरा हो। विक्रम सम्वत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो। सुशासन प्रवर्द्धन गर्न, भ्रष्टाचार रोक्न उल्लेखनीय प्रयासहरु भए तर पनि जरैदेखि भ्रष्टाचार फ्याँक्न सकिएन यसमा म र मेरो नभनी हामी र हाम्रो भन्ने भावनाको विकास गरी राष्ट्र हामी सबैको साझा फूलबारी हो र यसमा सबैले मलजल गर्नु पर्दछ भन्ने भावना सम्पूर्ण नेपालीहरुमा हुनुपर्दछ। आफ्नो क्षेत्रबाट आफुले गर्न सकेको योगदान प्रदान गरी राष्ट्र निर्माणमा इटा थप्ने काम गर्नुपर्दछ। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प २०७६ साल चैत्र ११ गतेदेखि केही महिना लकडाउन अर्थात बन्दाबन्दीले देशमा आर्थिक मन्दी ल्याएको अवस्था छ ।
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन साथै मंसिर ४ गते पर्देश र प्रतिनिधि सभाको निर्वाचन भएको कुरा सर्वविदितै छ। भर्खर नयाँ जनप्रतिनिधीको प्रवेश भएको छ ।केही नयाँ अनुहार पनि भेट्न सकिन्छ। तर यी अनुहार निजी स्वार्थमा लिप्त नहुन् ,विकास गर्ने शैलीमा परिवर्तन होस्, युवा जनशक्ति खोजी खोजी नेपाल फिर्ता ल्याइयोस् र रोजगारीको सुनिश्चितता होस् ,परिवर्तनमा सबैको हातेमालो भएको देख्न पाइयोस् मेरो कामना। भनाइ छ “परिवर्तन सम्भव छ हाम्रो पालामा”। हो यसको सही कार्यान्वयन हुनुपर्दछ ,पुरानो शैली र परम्परालाई परिमार्जन गर्नु पर्दछ ।आजको एक्काइसौं शताब्दीको युग वैज्ञानिक युग हो, कम्प्युटर जमानाको युग हो, प्रत्येक कार्यालयमा, विद्यालयमा कम्प्युटर मार्फत सेवा प्रदान हुन्छ। अतः यस्ता विद्युतीय सामग्रीको सही र सफल प्रयोग होस् तब मात्र सुशासन कायम हुनेछ ,भ्रस्टाचार रोकिनेछ ,गुनासो सुन्ने अधिकारीले सम्पूर्ण नागरिकको समस्याहरुको सम्वोधन गर्न सकोस् र नागरिकले पनि जथाभावी हैरानी र दिग्दारी नपुर्यायोस् । कर्मचारी र नागरिक परिपूरक हुन् ।
यी एक आपसमा अन्तरसम्बन्धित छन् ।यी दुईबीच घनिष्ट सम्बन्ध कायम भएमा सेवा लाभदायी र प्रभावकारी हुन्छ ।सबैले सबैलाई सम्मान ,आदरभाव प्रकट गर्नुपर्ने हुन्छ। एकलाई परेको समस्या अर्कोले समाधान गर्न सक्नु पर्दछ होइन भने “भाइ फुटे गवार लुटे ” झैं हुन्छ अर्थात् हामी एक आपसमा विवाद झैझगडा गरी वैमनस्यता उत्पन्न गर्यो भने त्यसको फाइदा छिमेकी मुलुकले लिनसक्छन्। कुनै जमना थियो ,दुईजना व्यक्ति कलह झगडा र लडाइ गरेका छन् भने अर्को व्यक्तिले छुट्याउन ,मिलाउन कोसिस गर्थ्यो। तर अहिले दुईजना झगडा गरे अर्कोले भिडियो खिच्छ , लड्न प्रोत्साहन र उत्साहित गराउँछ। सुन्दा अचम्म आश्चर्य लाग्नसक्छ ,हाँसो लाग्ला स्वाभाविक हो तर वास्तविक यथार्थ हो, हो कतै यस्तै भइरहेको त छैन मेरो देशमा ? म छटपटीरहन्छु यो शोच्दा। म निदाउन सक्दिन यो कल्पना गर्दा।हाम्रो राजनैतिक शैली प्रक्रियालाई कतै छिमेकी मुलुकले रमिता हेरेको त छैन ? म झसँग हुन्छु निद्राबाट एक्कासि ब्युँझिए झैं हुन्छु र त्रसित हुन्छु। हो हामी बेलैमा सचेत हुनु आवश्यक छ ।देशको विकासमा टेवा दिन सक्नुपर्दछ। आहुती र योगदान गर्न सक्नुपर्दछ। परिआएको खण्डमा देशको निम्ति रगत बगाउनु पर्दछ ।हाम्रा वीर पुर्खाहरुले बचाएको यो देशको रक्षा गर्न हामी सबै जागृत हुनपर्दछ ।
वर्तमान परिपेक्ष्यमा व्याप्त रोग एवं संक्रमणको रुपमा भ्रष्टाचार मौलाएको अवस्था छ । एक वर्षमा हुने काम पाँचवर्ष एवं दशकौं लाग्ने गरेको पाइन्छ। यसो हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सक्नुपर्छ । भ्रष्टाचारको बिय पनि नरहनेगरी निमिट्यान्न पारी फ्याक्नुपर्दछ। घुसखोरी ,कालोबजारी गर्नेहरुलाई कानुनी दायरामा ल्याई तह लगाउनु पर्दछ। चुस्त दुरुस्त र पारदर्शी सेवा प्रवाह नभएमा सम्बन्धित सबैलाई नीतिनियम भित्र बाँध्न पर्दछ। कानुनको उल्लंघन गर्ने, कानुनको अधिनमा नरहने तथा सीमा मिचेर काम गर्नेलाई आवश्यक कारबाही गर्नु पर्दछ ।
कसैले गलत काम गरेवापत निजलाई खबरदार गर्न अर्को व्यक्तिले सम्बन्धित निकायमा उजुरी दिन सहज वातावरण सिर्जना गर्नुपर्दछ र उक्त व्यक्तिको ठेगाना गोप्य राखी अनुसन्धान गर्नु पर्दछ। होला केही व्यवस्था यद्यपि यस कडारुपमा प्रस्तुत नहुँदा केही संघसंस्थाले अलि लचिलो बन्न पुगेका हुन् कि जस्तो लाग्छ मलाई। भ्रष्टाचारमा संलग्न व्यक्ति समूह वा छुट्टै गिरोह के छन् सबैमा अनुसन्धान गरी तह लगाउनु आवश्यक छ। निजको नाम सम्पर्क र ठेगाना अनुसार पत्ता लगाई कहिलेदेखि सो कार्यमा संलग्न भएको हो र कति रकम, सम्पत्ति हिनामिना गरेको छ सोको छानबिन गरी संविधानको ,नियमको रक्षा गर्नु पर्दछ अनि मात्र सुशासन कायम भएको ,सुशासन प्रवर्द्धनको अनुभूति हुनेछ।
अन्त्यमा भ्रष्टाचार एउटा विद्यमान सामाजिक समस्या हो ।यस्तो समस्याले सामाजिक अवरोध खडा गरेकोले यसको नियन्त्रण गर्नु अपरिहार्य कार्य हो। त्यस्तै सेवाबाट वञ्चित समूहलाई समावेशीकरण गरी सामाजिक न्याय को आधारमा पक्षपात रहित सेवा प्रवर्द्धनमा जोड दिनु पर्दछ । तब मात्र सुशासनमा थप टेवा पुग्ने छ ।”एक थुकी सुकी सय थुकी नदि” भने जस्तै सबैले हातेमालो गरी एकताबद्ध भएर समृद्ध राष्ट्र निर्माणमा जुट्यो भने पक्कै पनि देशले मुहार फेर्नेछ र नेपाल आमा पनि खुसी हुनेछिन् ।भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासनको प्रत्याभूति दिलाउन तन ,मन र धनले दत्तचित्त भई लाग्नु पर्दछ ।
“परोपकारः पुण्याय पापाय परपीडनम् ” भने जस्तै अरुको उपकार गरेमा भलाइ चिताएमा धर्म हुन्छ, अन्यथा पाप लाग्नेछ। देश परिवर्तनशिल एवम् विकसित भएको हेर्ने हो भने हामीले पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग गरी धर्म कमाइने छ। नेपाल एक “स्वर्गको टुक्रा” जस्तै देश तब मात्र बन्ने छ ।तसर्थ भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा सम्बन्धित व्यक्ति ,परिवार ,समाज ,स्थानीय निकाय ,संघसंस्था एवं यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूको बेलैमा उचित ध्यान जानु आवश्यक छ।