गुल्मी लोकबार्ता सम्मेलन : एक दर्जक लोक कलादेखि डेढ दर्जन कार्यपत्र प्रस्तुत

गुल्मी, १० फागुन

लोकवार्ता परिषदको ११ जिल्ला सम्मेलनको लागि नेपालका दुई दर्जन बढि प्रध्यापक तथा लेखकले गुल्मीको कला संस्कृति र पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । लोकवार्ता परिषदका अध्यक्ष प्राध्यापक डाक्टर प्रेम कुमार खत्री, परिषद्का उपाध्यक्ष लेखक भवेश्वर पंगेनी, महासचिव प्राध्यापक डाक्टर धुर्व भट्राई, प्रध्यापक माधवप्रसाद पोख्रेल, महेन्द्र संस्कृति विश्व विद्यालयका पुर्व उपकुलपति प्रध्यापक डाक्टर माधव गौतम लगायतका नेपाल प्राज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरु, विभिन्न क्याम्पसका प्रध्यापकहरु सम्मेलनका लागि गुल्मी आएका थिए । उनीहरुले गुल्मीको प्रख्यात सरायँ, एकतारे भजन, फागु गीत, घाटु, लाखे, सोरठी र कृष्ण चरित्र लगायतका कला संस्कृतिहरुको अवलोकन गरेका हुन् ।

दौरा सुरुवाल, दरबार र बाजासहित धागिधुमले प्रस्तुत गरेको सरायँ नाच अत्यन्तै रोचक रहेको थियो । बिच बजार र फागुन महिनामा खेलिएको सरायँ नाच धेरैलाई अनौठो पनि बन्यो । युवा र पाका पुस्ताका व्यक्तिसंग सरायँ खेल्न थालेको रेसुंगा नगरपालिका २ का ५८ बर्षीय मिन बहादुर थापाका बर्षौ भए । उनी १४ बर्षको उमेरदेखि सरायँ खेल्थे । अहिले अध्ययन र रेकर्डको लागि सानो झल्को देखाउन खेले पनि दशैमा जस्तो आनन्द नहुने बताए । लोकवार्ता परिषद नेपालको ११ औं राष्ट्रिय सम्मेलन थापासहितको समुहले सरायँ देखाएको हो । रेसुंगा नगरपालिका ४ अर्खलेका स्थानीयले मनमोहक भजन र फागु गीत प्रस्तुत गरे । बर्षौदेखि अर्खलेका स्थानीय भजन समुहले मौलिक लोक भजन गाउँदै आएका छन् ।

६० बर्षीय हरि पन्थीले भजन गाउन थालेका तीन दशक हुन थाले । उनका पुर्खाले पनि भजन गाउँथे । यो समुह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन् । तर, पुस्ता निकै पुराना छन् । जमना फेरियो, उमेर घर्कियो । पहिले–पहिले पुजाहरुमा भजन गाएर रात बिताएको अनुभव पन्थीसंग छ । तर, नयाँ पुस्ता दोहरी र पपसंग रमाउन थालेकाले भजन संकटमा परेको छ । त्यस्तै कार्यक्रममा निकै पुरानो रबिकृत रामायणको एकतारे भजन राधा बेलबासे र मानकुमारी भुसालले प्रस्तुत गरेका थिए ।

रुरु क्षेत्र गाउँपालिका १ मा भार्सेली कलाकारले सोरठी र कृष्ण चरित्र प्रस्तुत गरे । सयौ बर्ष पुरानो यो कलामा नाच्ने बच्चादेखि बृद्धसम्म हुन्छन् । कृष्ण जन्माष्टमीमा कृष्ण चरित्र गाउने र देखाइने गरिन्छ । यो प्रकारका कला संस्कृति र परम्परा जिल्लाका अधिकांश ठाउँमा संकटमा परिरहेका छन् । कार्यक्रममा सरायँ, भजन, सोरठी र कृष्ण चरित्रसहित रेसुङ्गा नगरपालिका–१३ भँगारीको तर्फबाट सती घाटु नाच, वडा नं ११ को कालिका युवा क्लवद्धारा कालिका नाच, नेवा खलको तर्फबाट लाखे नाच प्रस्तुत भएका थिए ।
जिल्लाको सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यका साथ तम्घासमा लोकवार्ता परिषद् नेपालको सम्मेलनको आयोजना गरेर विभिन्न कला संस्कृतिको प्रस्तुती राखिएको परिषद्का जिल्ला संयोजक प्रध्यापक शशी पन्थीले जानकारी दिए । संयोजक पन्थीका अनुसार सम्मेलनमा लोकवार्ता, इतिहास, पुरातत्व, भाषा, साहित्य, कला संस्कृति, परम्परा, गीत संगीत, मान्यता, रहन–सहन, रितिरिवाज, प्रविधि, शैली र लोक जीवनको समग्रताको विमर्श गरिएको थियो ।
मौलिक पहिचानको आधार मानिने लोक साहित्य तथा परम्परा लोक प्रविधि, लोक जीवन, लोकोक्ती, लोक दर्शनलगायतको अध्ययन अनुसन्धान कार्य गर्नु र प्रकाशन गर्नु लोकवार्ता परिषद्को उद्देश्य रहेको पन्थीले बताए । सम्मेलनले विभिन्न ऐतिहासिक धार्मिक भौगोलिक प्राकृतिक पुरात्वातिक तथा पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास लिएको प्रचारप्रसार संयोजक रेशम कुँवरले बताए । उनले सम्मेलनमा लोकवार्ताका विभिन्न बिषयका डेढ दर्जन कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा