धुर्कोटको हाडहाडेमा नयाँ गुफा फेला

हुमाकान्त पोखरेल, गुल्मी
२३ फागुन । गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेमा नयाँ गुफा फेला परेको छ । हाडहाडेको बर्दबास धाराखोलामा करिब एक सय मिटर लामो गुफा चार दिनपहिले फेला परेको हो । गुफाभित्र शिव लिङ्ग, गाइका थन, मुर्ती, मानिसको आकार, रगत धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको आकृति, नाग, खेतबारी लगायतका विभिन्न आकर्षक आकृतिरु रहेको वडाध्यक्ष पदम विष्टले बताए ।

०२८ सालमा बहुदल र निर्दलको लडाइमा स्थानीय भुमिराम घिमिरे सोही स्थानमा गइ लुकेका थिए । मान्छे लुक्न मिल्ने जत्तिकै प्वाल भेटिएपनि स्थानीयले उक्त स्थानलाई साराको दुलो भन्ने गरेका थिए । उक्त प्वाल फेला परेपछि दुम्सी जाने डरले स्थानीयले ढुंगाले छेकेर राखेका थिए । पछि ०६२ सालमा स्थानीय तुलाराम पाण्डे लगायतका स्थानीयहरुले ढुंगा झिकेर भित्र पस्ने प्रयास गरे । केही भागमा गाइका थान देखे पनि । तर अन्य जंगली जनावरको आक्रमणमा परिने डरमा जान सकेनन् । दुम्सी लगायतका जनावरहरु भगाउन भन्दै गुफाभित्र आगो बाले । अनि फेरी उक्त प्वाललाई ढुंगाले छोपेर राखे ।

अहिले सोही गुफाको माथि पचभैयामा ट्रि हाउस बनाउने बेला स्थानीय र वडाध्यक्षबीच पर्यटनको सम्भावनाका बिषयमा छलफल भयो । छलफलकै क्रममा उक्त प्वाल भएको जानकारीपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । उक्त गुफाको चौडाई र उचाई पाँचदेखि आठफुटसम्म रहेको छ ।

 

स्थानीयले उक्त गुफालाई ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ भनि नामाकरण गरेका छन् । वडाध्यक्ष विष्टका अनुसार गुफालाई संरक्षण गर्नको लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचार–प्रसार समिति र जुद्ध बहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समितिको गठन गरिएको छ ।

उक्त गुफालाई पर्यटकीय क्षेत्र बनाई पर्यटन प्रवद्धन गर्ने वडाको योजना छ । जसका लागि अहिले एक लाखमा सडकबाट गुफासम्म पुग्ने पैदल मार्ग बन्दैछ । गुफा भेटिएदेखि हालसम्म चार सयभन्दा बढीले अवलोकन गरिसकेको विष्टले बताए । हाडहाडेमा नयाँ गुफा भेटिएसँगै धुर्कोटमा गुफाको सङ्ख्या दुई पुगेको छ । यसभन्दा पहिले ०४५ सालमा पत्ता लागेको वडा नम्बर ५ वस्तुस्थित विचित्र गुफा छ । उक्त गुफामा पनि सिजनअनुसार पर्यटकहरु पुग्ने गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा