गाउँमै मुटुसम्बन्धि सेवा

गुल्मी, चैत १३ । मालिका गाउँपालिका–८ किसनटारीकी ७० बर्षिया पुनकला पाठकलाई विगत केही समयदेखि दम हुने समस्या थियो । विविध कारणले उनी उपचारको लागि अस्पतालसम्म जान सकेकी थिइनन् । तर गाउँपालिकाले शनिबार सिमटारीमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्‍यो । सोही शिविरमा पुनकलाले जाँच गराइन र औषधी पनि लिइन् । जसले गर्दा उनको अस्पतालसम्म जाने–आउने खर्च, औषधी खर्च र समयको बचत भएको छ । ‘गाउँमै शिविर नआएको भए उपचारको लागि बुटबल जानुपर्ने थियो, धेरै रकम खर्च हुने थियो ।’ उनले भनिन्, ‘गाउँमै शिविरको आयोजना हुँदा समय र पैसाको बचत भएको छ ।’

मालिका –८ दगासकी ६३ बर्षिया तुलसा पाठकले पनि गाउँमै आयोजना गरिएको शिविरबाट सेवा लिइन् । शिविरको आयोजना नभएको भए बुटबल जानुपर्ने उनलाई गाउँमै शिविर संचालन हुँदा धेरै राहत मिलेको छ । ‘हाडजोर्नी र मुटु दुख्ने समस्या थियो, यसभन्दा अगाडी दुई पटक बुटबल गएकी हुँ ।’ उनले भनिन्, ‘यसपटक बुटबल जान परेन, खर्चको बचत हुनेभयो ।’
पुनकला र तुलसा मात्र होइन्, मालिका –७ घमिरका ऋषिराम पन्थी पनि शिविरको आयोजना गरकोमा खुसि देखिन्थे । ६४ बर्षिय पन्थीले जाँच गरेको र औषधी लिएको कुनै शुल्क तिर्नुपरेन । उनले आफुजस्तै धेरैले स्वास्थ्य शिविरबाट फाइदा लिएको भन्दै आयोजकलाई धन्यवाद् दिए ।

नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मालिका गाउँपालिकाले शनिबार मालिका –८ सिमलटारीस्थित मालिका माविमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । शिविरमा मालिकाका विभिन्न वडाका साथसाथै मदाने र धुर्कोटका नागरिकले पनि सेवा लिएका थिए । शिविरमा कुल एक हजार ३३४ जनाले सेवा लिएका छन् । मालिका गाउँपालिकाको आयोजना, नेपाल ह्दयरोग प्रतिष्ठान, गुल्मीको सह–आयोजना एवम् गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ३१७ जनाले इको, ५९२ जनाले इसिजी, १६७ जनाले ल्याबको सेवा लिएका छन् । त्यस्तै ५९ जनाले पिएटी र अन्य रोगका सय जनाले सेवा लिएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीले जानकारी दिए ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विकास केसीले वंशाणुगत, प्रेस, सुगर, शारीरिक व्यायामको कमी जस्ता कारणले मुटुरोग लागेको बताए । रोग लागिसकेपछि भन्दा रोग लाग्नै नदिनु राम्रो उपाय भएको भन्दै डाक्टर केसीले मुटु बचाउन खानपानमा विशेष ध्यान दिन आग्रह गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले नागरिकको मुटुसम्बन्धि समस्याको पहिचान र समाधानको लागि शिविरको आयोजना गरिएको बताए । ‘कम चेतनाको कारणले धेरै नागरिकलाई मुटुरोगको कारण र उपचारको उपाय थाहा थिएन ।’ उनले भने, ‘रोगको पहिचान र निदानका लागि शिविरको आयोजना गरेका हौँ ।’ उनले यसभन्दा अगाडी पालिकाले आँखा शिविरको पनि आयोजना गरेको भन्दै नागरिकको स्वास्थ्यप्रति पालिका संवेदनशिल रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा