गुल्मी, चैत २६ । गुल्मीमा प्रभातफेरी कार्यक्रम गरी विद्युत सुरक्षा दिवस मनाइएको छ । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौँ’ भन्ने मुल नाराका साथ विद्युत सुरक्षा दिवस मनाइएको हो । नेपाल विद्युत प्राधिकरणले विद्युत सुरक्षासम्बन्धि विभिन्न पम्प्लेटसहित कार्यालयबाट उपल्लो तम्घास, खानिगाउँ, लाकुरीमञ्च, पुरानो बजार हुँदैँ विद्युत कार्यालयसम्म प्रभातफेरी कार्यक्रम गर्दै विद्युत सुरक्षा दिवस मनाएको हो ।
‘नगरौँ है चोरीको धन्दा, परिएला कानुनको फन्दा’, ‘विद्युतसम्बन्धि कार्य गर्दा सुरक्षामा ध्यान पु¥याऔँ’, ‘सुरक्षाप्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो’ लगायतका नारा लेखिएको पम्प्लेटसहित प्राधिकरणका कर्मचारीहरुले बजार परिक्रमा गरेका हुन् । नागरिकमा विद्युत सचेतना फैलाउन र विद्युतबाट हुने सम्भावित दुर्घटना कम गर्न प्रभातफेरी कार्यक्रम गरिएको कार्यालय प्रमुख अर्जुन पोखरेलले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले प्रत्येक बर्षको चैत २६ गते विद्युत सुरक्षा दिवस मनाउदैँ आएको छ ।