धुर्कोटमा घटना दर्ता सप्ताह सम्पन्न, घटना दर्तामा उल्लेख्य बृद्धि

गुल्मी, ०८ फागुन
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग मार्फत देशभर संचालन भएको `घटना दर्ता सप्ताह २०८०´ अन्तरगत धुर्कोट गाउँपालिकामा घटना दर्ता सप्ताह सम्पन्न भएको छ । `जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइसराई जस्ता व्यक्तिका निजि घटना दर्ता गर्न कोही नछुटौँ, ३५ दिन भित्र अनिवार्य रुपमा आफ्नो वडा कार्यालयमा गई दर्ता गरौँ´ भन्ने  उद्धेश्य सहित यो कार्यक्रम संचालन गरिएको हो । गाउँपालिकाकाे सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाईले पालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक विद्यालय (१०+२)मा अध्ययनरत विद्यार्थीहरुका लागि लक्षित गरी अभिमुखिकरण कार्यक्रम गरि घटना दर्ता कार्यक्रम सम्पन्न गरिएको हो ।

बैशाखको पहिलो हप्तालाई घटना दर्ता सप्ताहका रुपमा देशव्यापी रुपमा मनाउदै आएकोमा धुर्कोट गाउँपालिकामा बैशाख ३ देखि ७ गतेसम्म गरी पाँच दिनमै ६९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । जसमा जन्म दर्ता ४६, मृत्यु दर्ता सात, सम्बन्ध बिच्छेद दर्ता एक, बिवाह दर्ता १२ र बसाइसराई तीन वटा सम्बन्धित वडा कार्यालयमा दर्ता भएको गाउँपालिकाका एमआइएस् कम्युटर अपरेटर झविन्द्र भण्डारीले जानकारी दिए । विद्यालयमा गरिएको घटना दर्ताको अभिमुखिकरण कार्यक्रमको प्रभावका कारण आम नागरिकलाई यसको महत्व बुझाउन थप सहयोग पुगेकोले केही दिनमै धेरै मात्रामा घटना दर्ता गराउन सम्भव भएको भण्डारीले बताए ।

व्यक्तिको कानुनी पहिचान स्थापित गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवा प्राप्तीका लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेको हुँदा यो कार्यक्रम संचालन गरिएको हो । नेपालले सन् २०२४ सम्म जन्म, मृत्यु, लगायतका घटना दर्ता शतप्रतिसत पुर्याउने अन्तराष्ट्रिय प्रतिबद्धता गरे अनुसार नेपालभर घटना दर्ता सप्ताह कार्यक्रम अभियानकै रुपमा संचालन भएको हो ।

गाउँपालिका भित्रका माध्यमिक तहका विद्यालयमै पुगेर करिब छ सय भन्दा बढी बिद्यार्थी र शिक्षकहरुको साथमा कार्यक्रम  गरिएको फिल्ड सहायक रमेश पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा