गुल्मी अस्पतालमा मेनेन्जाइटिस र एपेन्डिसाइटिसको उपचार सुरु

गुल्मी, १० वैशाख । गुल्मीमा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको देखिएपछि मेनेन्जाइटिसको परीक्षण गरिएको बालरोग विशेषज्ञ डा. विपीन खनालले बताए । ढाडबाट पानी निकालेर मेनेन्जाइटिसको परिक्षण गरी उपचार थालिएको खनालले बताए । जिल्लामा उक्त सेवा रोग पहिचान र उपचारको लागि पाल्पा वा बुटबल जानुपर्ने अबस्था थियो ।

त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ । अस्पतालका एमडिजिपी डाक्टर नरमा छन्त्यालको समुहले गत फागुन ८ गते मालिका गाउँपालिका –३ का ४३ बर्षिय पूर्ण बहादुर घर्तीको एपेन्डिसको सफल शल्यक्रिया गरेको हो । उनलाई फागुन ७ गते भर्ना गरी ११ गते डिस्चार्ज गरिएको थियो । अब गुल्मी अस्पतालमै नियमित एपेन्डिसको शल्यक्रिया हुने डाक्टर छन्त्यालले बताइन् । ४ वर्षदेखि गुल्मी अस्पतालमा एपेण्डिक्सको अप्रेसन बन्द थियो ।

अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा केही महिनादेखि सञ्चालनमा छ । अस्पताल विकास समितिले एमडी तहको अध्ययन गरेका विशेषज्ञ डक्टरलाई शत प्रतिशत भत्ता उपलब्ध गराएपछि विशेषज्ञ डक्टरहरुमा उत्साह थपिएको छ । साथै हाडजोर्नी विशेषज्ञलाई रेसुङ्गा नगरपालिकाले थप भत्ता उपलब्ध गराएको छ । अन्य स्थानीय तहहरुले पनि विशेषज्ञ डक्टरलाई भत्ता उपलब्ध गराउने हो भने विशेषज्ञ सेवाहरु जिल्लामै उपलब्ध गराउने सकिने अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए ।

अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि मेसु डा. राजेन्द्रबहादुर जिसीले आफै ओपिडीमा बसेर बिरामी हेर्ने गरेका छन् । अस्पतालमा हालै मात्र सरुवा भएर मेसुको रुपमा जिम्मेवारी सम्हालेका डा. जिसीले आफ्नो अध्ययन र जागिर नै बिरामीको उपचारका लागि भएकोले ओपिडीमा बसेर बिरामी हेर्ने गरेको बताए । अस्पतालमा लामो समयदेखि समस्याका रुपमा रहेको खानेपानी र सरसफाईँको समस्या समाधान पनि हुन थालेको छ ।

अस्पतालमा विगत एक बर्षमा टिकटमा टोकन प्रणाली, बिरामीलाई बस्ने ठाउँको सहजताका प्रतिक्षालय, बीमा र सामाजिक सेवा लिन विरामीहरु अर्को भवनमा जाने समस्या समाधान गर्न टिकट काउण्टर नजिकै बीमा र सामाजिक सेवा इकाईको सेवा गरिएको अस्पतालले जनाएको छ । हाडजोर्र्नी, स्त्रीरोग, बालरोग लगायत विशेषज्ञ सेवा सञ्चालन, मातृ तथा शिशुको निःशुल्क औषधोपचार, आमा सुरक्षा र नवजात शिशुको परीक्षण र उपचार निःशुल्क, शौचालयको मर्मत, कर्मचारीको बिदा व्यवस्थापन लगायतका काम पनि गरेको अध्यक्ष पाण्डेले बताए । अस्पतालमा केही समयदेखि बिग्रिएको एक्सरे मेसिन पनि मर्मत भई प्रयोगमा आएको छ । बर्षौदेखि खानेपानीको समस्या रहेकोमा समाधानको लागि तम्घासका खानेपानी उपभोक्ता समिति र नगरपालिकासँग समन्वय भइरहेको छ ।

अस्पतालको नयाँ भवन निर्माणधिन रहेको र पुरानो साँघुरो भवनबाट सेवा दिनु पर्दा केही कठीनाई रहेको छ । त्यो समस्या पनि अब केही महिनामै समाधान हुने अस्पताल प्रशासनको भनाई छ । पछिल्लो समय अस्पतालका विभिन्न विवादिद विषयहरु बाहिरिने गरेकोमा अध्यक्ष पाण्डेले केही राजनीतिक दलको आडमा अस्पतालका आन्तरिक सूचना चुहाएर अस्पताललाई विवादित बनाउने कर्मचारीलाई कारवाही गर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा