इस्माकाे मनपरि विरूद्व एमालेकाे प्रदर्शन

०३ वैशाख, गुल्मी, गुल्मीको इस्मा गाउँपालिकाकाे मनपरिबिरूद्व नेकपा एमाले इस्मा गाउँकमिटीले बिराेध प्रदर्शन गरेकाे छ । बुधबार गाउँपालिकाकाे कार्यालय परिसरमा एमालेले गाउँपालिकाकाे मनाेमानि तथा स्वेच्छाचारीता विरूद्व बृहत् प्रदर्शन गरेकाे एमाले इस्मा गाउँकमिटी अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले बताए । गत वैशाखकाे निर्वाचनपछि नै गाउँपालिकाले गरेकाे गलत कामकाे विराेधमा एमालेले ज्ञापन पत्र बुझाएपनि त्यसकाे सुनुवाइ नभएकोले प्रदर्शन गर्दै पालिकालाई विराेध पत्र बुझाएको कुँवरले बताए । इस्मा गाउँपालिकाले नागरिकलाई दुःख दिनेगरी जनविरोधी, पूर्वाग्रही, मनोमानी एवं भ्रष्ट्राचारजन्य गतिविधिहरु गर्दै गएकोप्रति एमालेले विराेध जनाएको हाे । उसले पालिकाका २० कमजोरीहरू आैल्याई ती कमजोरीहरू सुधार नगरे पार्टी शसक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । हेराैँ एमालेले अाैँल्याएका कमजोरीहरू जस्ताकाे तस्तै :

१. विगतमा गाउँपालिकामा कार्यरत लेन्थ वर्करहरु हटाई इस्माली श्रमजीवी जनताको रोजगारी खोस्ने र डोजर पोस्ने काम गरिएको ।
२. गाउँपालिकाभित्रका सडकहरुको मर्मतसम्भार नगरिंदा नागरिकहरुले आवतजावत गर्ने यातायातका साधन सञ्चालनमा समस्या भएको ।
३. गाउँपालिकाले कृषकहरुलाई प्रदान गर्दै आएको उत्पादनमा आधारित अनुदान कटौति गरेको ।
४. इस्मा गा.पा. भित्र उत्पादित कृषि तथा पशुजन्य वस्तुउपर कर लगाई आयआर्जन र उत्पादन वृद्धिलाई निरुत्साहित गरिएको ।
५. सुत्केरी पोषण भत्ता, ‘ग’ वर्गका अपांगता भएका नागरिकहरुलाई प्रदान गरिंदै आएको भत्ता र नागरिकहरुको स्वास्थ्य परीक्षण ल्याव सेवा बन्द गरिएको ।
६. CTEVT अन्तर्गत गाउँपालिकामा आएको महत्वपूर्ण संस्था जीवराज आश्रित बहुप्राविधिक शिक्षालयको जग्गा समस्या तत्काल समाधान गरी पूर्वाधार निर्माणमा सहजीकरण नगरेको ।
७ कानुनसम्मत न्यायिक निरुपण गर्नुको सट्टा न्यायिक स्वेच्छाचारिता तथा मनोमानी बढेको ।
८. मर्मतसम्भारको लागि स-सानो बजेट अभावका कारण अवरुद्ध खानेपानी योजना सुचारु गर्ने तथा निमार्णाधीन योजनाहरु सम्पन्न गरी एक घर एक धारा कार्यक्रमलाई अविलम्ब सबै घरधुरीमा पुर्याउने गरी काम नभएको ।
९. निष्पक्षता र क्षमताको आधारमा शिक्षक तथा कर्मचारी भर्ना नगरी आसेपासे, अवाञ्छित लाभ र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई भर्ना गरिएको निहित स्वार्थ पूरा नहुने अवस्थामा विनाकारण परीक्षा स्थगित गरी दर्जनौं परीक्षार्थीहरुलाई दुःख दिने गरेको । साथै पालिकाभित्रको रोजगारीमा इस्माका नागरिकहरुलाई प्राथमिकता नदिएको ।
१०. वडागत बजेट सिलिङ्ग विगतमा प्रदान गरिएको भन्दा पनि कम गरी पालिका अध्यक्ष/उपाध्यले अपारदर्शी एवं मनोमानी ढंगले तोक आदेशको भरमा वितरण गरेको ।


११. प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई कानुनबमोजिम प्राप्त अधिकारमा समेत गाउँपालिकाका पदाधिकारीहरुबाट हस्तक्षेप गर्ने तथा विधिसम्मत तरिकाले होइन व्यक्तिको आदेश र लहडमा कार्यालय चलाउन खोजिएको ।
१२. सेवाग्राहीलाई गाउँपालिका र मातहत कार्यालयबाट प्रदान गरिने सेवासुविधामा विभेद र पूर्वाग्रहपूर्ण व्यवहार गर्न बन्द नगरिएको ।
१३. गाउँपालिकाको वडा नं. १, ४ लगायत समग्र पालिकाभित्र बाढीपहिरो र विपद्का कारण आवासविहीन हुन पुगेका घरधुरीहरुलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्नुको साटो विगतमा पुनःनिर्माणको लागि सम्झौता भएका घर र सार्वजनिक संरचनाहरुको कामसमेत रोकिएको ।
१४. गाउँपालिकाबाट भएगरेका अधिकांश खरिद तथा निर्माण कार्यमा अनियमितता भएको । खुल्ला प्रतिस्पर्धाबाट नभई कोटेशनको नाममा जिम्मेवार पदाधिकारीका आफन्त वा सीमित व्यक्तिहरुलाई खरिद तथा निर्माणसम्बन्धी कामको जिम्मा लगाई कमिशन असुलीको धन्दा चलाएको । असुलीमा असहयोग गर्ने कर्मचारीलाई हटाउने, राजिनामा दिन बाध्य पार्ने, सरुवा गराउने गरेको ।
१५. अधिकांश स्थानमा आसेपासेहरु राखेर गठन गरिएको टोल विकास संस्थालाई कर नतिर्ने ठेकदार र गुणस्तरहीन काम गरी राज्य स्रोतको दोहन गर्ने गिरोहको रुपमा परिणत गरेको ।
१६. राजनीतिक पूर्वाग्रहका कारण वडा नं. ३ र ४ को लागि कुनै पनि योजना संघ र प्रदेशमा सिफारिस नगरेको ।
१७. युवाहरुद्वारा आयोजित खेलकुद प्रतियोगिता तथा क्षमता विकासका कार्यक्रममा सहयोग गर्नुको सट्टा विनियोजित बजेटमा मनोमानी गर्ने गरेको ।
१८. उत्पादन वृद्धि, आयआर्जन र क्षमता विकासका कार्यक्रम कटौती गरी खरिद र निर्माणमा लिप्त रहेको ।
१९. गाउँपालिकाको सवारीसाधन र इन्धन दुरुपयोग गरेको ।
२०. कृषकहरुले प्राप्त गर्दै आएको उत्पादनमा आधारित अनुदानमा कटौती गरी कृषकहरुलाई निरुत्साहित गरेको ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा