टोपलाल अर्याल
गुल्मी, ९ असार . मदाने गाउँपालिकाले पूर्वाधारलाई जोड दिर्दै निर्माणका आयोजनाहरु संचालन गर्दा लागत–लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं प्रतिफल दिने, समतामुलक विकासको आधारको रुपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहिकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरु पहिचान गरेर ‘आयोजना बैंक’ तयार गर्ने नीति लिएको छ । गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवंरले १३ औ गाउँ सभामा पेश गरेका आर्थिक बर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रममा आयोजना बैंकमा समाविष्ट आयोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने नीति लिले उल्लेख छ ।
नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकास तर्फ प्रशासकीय भवन निर्माण, १५ शैया अस्पताल निर्माण, दुईखोली र रिपुरेखोला पुल निर्माण, पंचमीपोखरी–शैरे–भोटमारा–अग्लुङ्गफेदी सडक, सिर्सेनी वडा कार्यालय–काफलेनी–सेताभिर–सिम–पुर्कोदह सडक र पुर्कोटदह–कङ्केदेउराली–एकराते सडक स्तरोन्नतीलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै आर्थिक विकास तर्फ एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना योजनालाई अगाडी बढाउने, रोल्मा तिखेचुली पर्यटन पूर्वाधार विकास योजना, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तथा साना सिँचाई प्रवद्र्धन कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । सामाजिक विकास तर्फ म्यालपोखरी बृहत खानेपानी योजना, बाँझकटेरी बृहत खानेपानी योजना, भनभने स्वास्थ्यचौकी निर्माण योजना, अग्लुङ्ग मावि, बालविकास निमावि, रियाले मावि र कङ्केदेउराली आधारभुत विद्यालय भवन निर्माण, ल्याण्डफिल साइट निर्माण, पानी भरण पोखरीहरुको निर्माण पनि प्राथमकितामा परेका छन् ।
एक वडा एक पार्क निर्माण नीति अवलम्बन गरी हरेक वडामा पार्कहरुको निर्माण क्रमश गर्दै लैजाने, लघु उद्मम विकास कार्यक्रम मेडपालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि एक वडा एक उद्ममको रुपमा कार्यक्रम संचालन गर्ने, विद्यालयमा शिक्षक रिक्तता हुने अवस्था सिर्जना हुन नदिन तहगत रुपमा शिक्षक वैंक खडा गर्ने गाउँपालिकाको योजना रहेको छ । एक विद्यालय एक नमुना शिक्षक घोषणा गर्न विद्यालयलाई उत्पेरित गर्ने, विद्यालय खुलेको दिन पुर्ण रुपमा उपस्थित हुने शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने, एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिने, अंग्रेजी,गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालयलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाको रहेको छ ।
गाउँपालिकाका मुख्य उपलब्धी
गाउँ सभामा गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवंरले गाउँपालिकाले प्राप्त गरेका मुख्य उपलब्धिहरु पनि पेश गरेका थिए । यस गाउँपालिकामा हाल सम्म ३८ किमि ग्राभेल सडक, करिब ३५५ किमि धुले तथा कच्ची सडक निर्माण भएको छ । गाउँपालिकाका सवै वडामा सडकको पहुँच पुगेकोछ । गाउँपालिकाले विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेको जनाएको छ ।
गाउँपालिकाबाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्ग सम्मको सडक पहुँचलाइ सुदृढ वनाइएको गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन् । त्यस्तै सिंचाइ तर्फ गाउँपालिकाका विभिन्न वडामा गरी करिब ११ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । त्यस्तै सामाजिक विकास तर्फ गाउँपालिकामा रहेको १५ शैल्याको अस्पताल निर्माण भईरहेको, कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवा लगायत शिक्षा, स्वास्थ्य, बैंकिङ कारोबार आदिमा सूचना प्रविधिको प्रयोग भएको र विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेको खड्काले बताइन् ।
त्यस्तै युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान निर्माण तथा विभिन्न खेलकुदका कार्यक्रमहरु भएका छन् । त्यस्तै आर्थिक विकास तर्फ हाल सम्म गाउँपालिकामा करिब ५० किमि कृषि सडक निर्माण भएको, ७ वटा तरकारी संकलन केन्द्र, एउटा स्थानमा कृषि हाटबजार र ४ वटा आलुस्टोरको निर्माण भै सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । कृषि सहकारी संस्थालाइ ब्यवसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्पेरित गरिएको, गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण र प्रवद्र्धन गर्ने कामलाइ ब्यवस्थित रूपमा कार्यान्वयनमा ल्याएको छ ।
त्यस्तै गाउँपालिकाले ८ वटा ऐन, ४ नियमावली, ४८ कार्यविधि, र ५ मापदण्डहरू तर्जुमा गरी कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । यस गाउँपालिकाले गत आर्थिक बर्षको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा ९०.५ अंक प्राप्त गरेको थियो । त्यस्तै वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा ८९.५ अंक प्राप्त गरेको थियो ।