गुल्मी, ०४ साउन ।
नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकार शुद्धिकरणको पक्षमा आफुहरु बलियो ढंगले उभिएको बताए । उनले महासंघको सुर्खेतको साधरण सभाबाट पारित कार्यविधी र सवै संगठनको सहयोगमा संचालन गरिएको पत्रकार शुद्धिकरण कुनै अवस्थामा नरोकिने बताउँदै शुद्धिकरण अभियानको उर्जाशिल र ऐतिहासिक कदम उठाउने गुल्मी शाखालाई धन्यबाद दिए । उनले समाचार लेख्ने र नलेख्नेहरुसंगै प्रदेशका परेका उजुरीको बिषयमा समेत आफु जानकार भएकाले कुनै आग्रह वा पुर्बाग्रह भन्दा कार्यविधी अनुसार शुद्धिकरण हुने विश्वास व्यक्त गर्दै युनियन आत्तिन वा तर्सिन पर्ने कुनै कारण नभएको बताए । उनले बाटोमा हिड्दा पत्रकारभन्दा अरु नभेटिने अवस्था भएकाले पत्रकारिता गर्ने र कलम चलाउनेहरुको लागि शुद्धिकरण अभियान आवश्यक रहेको बताए । लम्सालले दाइदिदि गुहारेर सदस्यता ल्याउने मानसिकताबाट टाढा रहेर पेशाला मर्यादित बनाउन सवैलाई आग्रह गरे ।
त्यस्तै नेपाल प्रेस युनियनका केन्दिय उपाध्यक्ष माधव अर्यालले पत्रकारिता पेशाको विश्वासनीयता कायम राख्न शुद्धिकरण अभियान आवश्यक रहेको बताए । उनले समुदायले पत्रकार छुट्याउनै मुस्किल पर्ने स्थिती रहेकाले शुद्धिकरण अभियानलाई अपब्याख्या गरेर अलमलमा कसैले पार्न नहुनेमा जोड दिए ।