गुल्मी, २२ साउन
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद छवि भएका ल्यारक्याल लामालाई नियुक्ती गरेसँगै चौतर्फी रुपमा विरोध भएको छ । यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल (क्रािन्तकारी) लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम खरेलले लामाको नियुक्ती नै खारेजी गर्न माग गरेका छन् । अध्यक्ष खरेलले सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्ता व्यक्ती कुनै पार्टीका हुन नसक्ने र यीनिहरु शक्तिको पछाडी हुनेभन्दै तत्काल सरकारले निर्णय सच्याउनुपर्ने बताए । उनले लेखेका छन्, ‘यस्ता व्यक्ती कुनै पार्टीका हुन सक्दैनन, यिनीहरु शक्तिको पछाडी हुन्छन र आफ्नो नीजि स्वार्थको लागि जस्तोसुकै कार्य गर्नपनि पछि पर्दैनन् । नेतृत्व समयमै सचेत बनोस, ल्यारक्यालको नियुक्ती तुरुन्तै खारेज होस् ।
विवादास्पद छविका ल्यारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । माननीय सुदन किराँती ज्यू, तपाईको छवि राम्रो छ, राम्रो नेता हो । लुडोमा सर्पको खेल झै ९८ बाट २ मा झर्ने स्थिति नआओस् ।’ गुल्मीको चन्द्रकोट गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ दिब्रुङ्गका अध्यक्ष समेत रहेका खरेलले पार्टी नेतृत्वले गरेका राम्रा काममा समर्थन र खराब काममा संगठनको तर्फबाट खबरदारी रहने बताए ।