हुमाकान्त पोखरेल
गुल्मी, २७ साउन । गुल्मीको मुसिकोट नगरपालिका–०१ का वडाध्यक्ष मोहन घिमिरेले नगरपालिकाको विपत् व्यवस्थापन तर्फको ६० लाख रुपैँया मेयर जिवन खरेलले छानीछानी एमाले कार्यक्रताहरुलाई बाँडेको भन्दै बुधबार सामाजिक संजाल फेसबुकमा लेखे । बिहीबार नगरपालिकाको आपतकालिन उद्धार तथा राहत वितरण कार्यविधि समेत फेसबुकबाटै सार्वजनिक गर्दै वडाध्यक्ष घिमिरेले नगरपालिकाले नियम मिचेरै विपद्को रकम दुरुपयोग गरेको आरोप लगाए । ‘रकम पाउनेपध्ये ८० प्रतिशत एमाले, १० प्रतिशत काँग्रेस र १० प्रतिशत अन्य पार्टीमा आस्था राख्ने नागरिक छन् ।’ वडाध्यक्ष घिमिरेले गुल्मीटुडेसँग भने, ‘कम्तिमा एक सय भन्दा बढीलाई नियम उल्लघंन गरेर विपद्को रकम दिइएको छ ।’
नगरपालिकाको विपद् व्यवस्थापन तथा राहत कोष संचालन कार्यविधिमा विपद्मा परी व्यक्तिको मृत्यु भएमा प्रति मृतक परिवार २५ हजार उपलब्ध गराउने उल्लेख छ । त्यस्तै विपद्बाटै घर–गोठ पूर्ण रुपमा नष्ट भएमा पाँच हजार, आशिंक क्षति भएमा तीन हजार, घाइते भएमा तीन हजार दिने, पीडित परिवारलाई सुरक्षित स्थानमा राख्ने, शिविर संचालन गर्ने लगायतका सहयोग गर्ने उल्लेख छ ।
तर वडाध्यक्ष घिमिरेले बाढी÷पहिरो पीडितलाई चार हजार तर नेता÷कार्यक्रतालाई २० दिइएको आरोप लगाए । पहिरो गएको लगायतका योजनाबाट भुक्तानी हुने रकम पनि पालिकाले विपत् व्यवस्थापन कोषबाट भुक्तानी दिएको घिमिरेको आरोप छ ।
बाँडेको रकम २४ लाख मात्रै
नगरपालिकाका एक कर्मचारीले भने वडाध्यक्षले सामाजिक संजालमा गलत सूचना प्रवाह गरेको बताए । गत आर्थिक बर्षमा २६६ जनालाई ६० लाख नभएर २४ लाख ५५ हजार ४०८ रुपैँया मात्रै नगरपालिकाको विपत् व्यवस्थापन कोषबाट रकम भुक्तानी दिइएको नगरपालिकाले जनाएको छ । अहिले विभिन्न राजनीतिक उदेश्यले सामाजिक संजालमा टिकाटिप्णी भइरहेको भन्दै ती कर्मचारीले आफ्नो नाम समाचारमा उल्लेख नगरिदिन आग्रह गरे । ‘आवश्यक कागजात र मेयरको तोक आदेशको आधारमा भुक्तानी दिएका छौ ।’ उनले भने । कसैलाई पनि नियमविपरित रकम भुक्तानी नगरेको उनले बताए ।
नगरपालिकाले गत आ.व. मा दुई हजारदेखि २५ हजारसम्म विपद् व्यवस्थापन कोषबाट सहयोग दिएको छ । जसमध्ये झण्डै डेढ सयजनालाई ‘आर्थिक सहयोग’ शिर्षक दिएर रकम दिइएको छ । मेयर जीवन खरेलले काँग्रेसका साथिहरुले जनप्रतिनिधिको दायित्व ननिभाएको आरोप लगाए । ‘आफै सरकारको सदस्य हुने र झुटा विवरण राखेर आफ्नै खुट्टामा बन्चरो हान्ने ?’ मेयर खरेलले भने, ‘यथार्थ एकातिर र प्रचार अर्कैतिर छ ।’
विपद्मा परेका नागरिकलाई उद्धार गर्नु नगरको दायित्व भएकोले आफुले त्यो दायित्व पुरा गरेको बताए । विपत्मा एमालेका कार्यक्रताले रकम पाउनु आफ्नो गलत नियत नभइ संयोग मात्रै भएको हुनसक्ने उनको भनाई छ । आर्थिक सहयोगअन्तरगत चट्याङ, बाढी पहिरो, आगलागी, जस्ता सबै घटनाहरु समावेश हुने खरेलले बताए ।
दोस्रो पटकका जनप्रतिनिधको कार्यकालमा मुसिकोट नगरपालिकाका जनप्रतिनिधिहरुबीच राजनीतिक अन्तरद्धन्द्ध रहेको छ । नगरसभा र कार्यपालिकामा एमालेको बहुमत भएको र आफुहरुको भनाई नसुनेको भन्दै विभिन्न समयमा काँग्रेस प्रतिनिधिहरुले कार्यपालिका बैठक समेत बहिष्कार गरेका थिए ।
अहिलेको १९ सदस्यीय कार्यपालिकामा पनि एमालेका १५ सदस्य छन् भने काँग्रेसका चारजना मात्रै छन् । यससम्बन्धमा मेयर खरेलले विभिन्न समयमा जनप्रतिनिधिहरुबीच समन्वय भइरहे पनि उनीहरुले नागरिकप्रतिको आफ्नो दायित्व आफै निभाउनुपर्ने बताए ।