हुमाकान्त पोखरेल
गुल्मी, ३१ साउन । न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा पैँचो पसल प्रा.लि.का प्रबन्ध निर्देशक ध्रुवराज न्यौपाने जरिवानामा परेका छन् । टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले मंगलबार न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो ।
खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले पैँचो पसले उत्पादन गरेको उक्त ससलाई ०७८ पौष १८ देखि अनुसन्धान गर्दै आएको थियो । पछि विभागको तर्फबाट कर्मचारी प्रमिला राइले ०७९ चैत १४ मा गुल्मी जिल्ला अदालतमा पैँचोका प्रबन्ध निर्देशक न्यौपानेका बिरुद्ध मुद्धा दर्ता गराएकी थिइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनका आधारमा न्यौपानेले सरकारको मापदण्डभन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको भन्दै कारवाहीस्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ ।