गुल्मी, ०८ भदाै ।
हिमालय माध्यमिक विद्यालय इस्मागाउँपालिका -१ हस्तिचौर गुल्मीमा गाउँपालिका स्तरीय अन्तर माध्यमिक तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । `टेक्स्ट बुक्स शुड नट बि रिप्लेस्ड बाइ टेक्नोलोजी´ भन्ने शिर्षकमा सञ्चालन भएको प्रतियोगितामा सातवटा माध्यमिक विद्यालयका सात जना छात्र छात्राको सहभागिता रहेको थियो । प्रतियोगितामा पालुखा माध्यमिक विद्यालयका छात्र आयुष के.सी. प्रथम, ओम प्रसाद अमरपुर माध्यमिक विद्यालयका छात्र पवन पराजुली द्वितीय र आनन्दपुर माध्यमिक विद्यालयका छात्र नविन थापा तृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरकाे प्रमुख आतिथ्यता, इस्मा – १ का वडाध्यक्ष शेरबहादुर कुँवर, रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक निलम बन्जाडे, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक जगतबहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले कार्यक्रम प्रभावकारी रहेको र यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनशिलता ल्याउने भएकोले अंग्रेजी विषयको नतिजा सुधारमा समेत टेवा पुग्ने वताउनु भएको थियो ।
प्रतियोगिता नेपाल इङ्गिलश ल्याङ्गवेज टिचर्स एसोसिएसन (नेल्टा) गुल्मीको आयोजनामा इस्मा गाउँपालिका गुल्मी र वडा नं. १ इस्मा गाउँपालिकाको सौजन्य तथा हिमालय माध्यमिक विद्यालय हस्तिचौर गुल्मीको आतिथ्यतामा सम्पन्न भएको थियो । शिक्षक हरिबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम कार्यक्रम संयोजक मनबहादुर खत्रीको अध्यक्षता तथा शिक्षक मञ्जु पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।