गुल्मी, १३ भदौ ।
गुल्मीको तम्घासबाट बुटलबलका लागि छुटेको स्कर्पीयो दुर्घटनाका मृतक र घाइतेको परिचय खुलेको छ । बुधबार बिहान लु १ ज ४६०० नम्बरको स्कर्पीयो पाल्पाको रिब्दिकोट गाउँपालिका –२ जोर्तेमा पहिरोमा परेर दुर्घटना भएको थियो । दुर्घटनामा परि रेसुङ्गा नगरपालिका –७ भुजेलखर्क निवासी ५० बािर्षया मनकला चुँदारा, प्रहरी चौकी नयाँगाउँमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत पाल्पाको तानसेन नगरपालिका–११ का यम बहादुर बोहोरा र सिद्धबाबा माध्यमिक विद्यालयमा अध्यापनरत पोखरा महानगरपालिका –२५ का बिनोद तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । मृतकलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल तानसेनमा पठाइएको छ ।
स्कर्पीयोमा चालकसहित ११ जना सवार थिए । स्कर्पीयोका चालक रेसुङ्गा नगरपालिका –८ निवासी ३६ बर्षिय बालकृष्ण श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । उनको अवस्था सामान्य रहेको छ । घाइते रेसुङ्गा –८ की ४० बर्षिया शोभा घर्ती मगरलाई ढाड, सोही ठाउँकी ३७ बर्षिया सुस्मा रानालाई निधार, ४५ बर्षिय टेक बहादुर जि.एम्.लाई घाँटी र ढाड, २७ बर्षिया स्वीकृत थापालाई ढाड र छाती एवम् उनको पाँच बर्षिय छोरा सुरेन थापालाई टाउको र हातमा सामान्य चोट लागेको छ । सुस्माका पाँच महिनाको छोरी सुबिया र छ बर्षकी छोरी सुरबीलाई बाहिरी चोट देखिएको छैन । उनीहरुको अवस्था सामान्य रहेको छ । घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।