टोपलाल अर्याल
गुल्मी, १५ भदौ । अहिले सामाजिक संजाल मनलाग्दीमा भइरहेको छ । निगरानी र कारबाहीको उपयुक्त निकाय सरकारसंग नहुँदा अवस्था अझै बिकराल बन्दै गएको छ । हामीले मेरो फेसवुक भन्ने मात्रै सोँचेका छौ । त्यसैले मनमा लागेका सवै कुरा लेख्न पाउने गलत मानसिकता पनि बोकिरहेका छौ । जसका कारण नजाँनिदो तरिकाले आफै अपराधमा फस्ने, समुदायमा अपराध सृजना गर्ने, उदण्डता मच्चाउने, आतंकित पार्ने र समाजिक सद्भाव भड्काउने कामहरु पछिल्लो समय निकै भएका छन् । त्यो मध्येको गुल्मीको पछिल्लो घटनामा प्रहरी प्रशासन समेत चपेटामा परे ।
जसका कारण जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न माध्यमबाट गलत प्रचार गर्नेहरुलाई कारबाही अगाडी बढाएको छ । केहि दिन अघि गुल्मी अस्पतालमा बालिकाको मृत्यु भयो । बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै अस्पताल र प्रशासन परिसरमा नाराबाजी गरे । सोहि क्रममा टायरमा पेट्रोल छर्किएर बाल्ने क्रममा एक्कासी आगो शरिरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका ७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नं ८ का कृष्ण पौडेल जलेर घाइते भए । ती मध्ये एक जना गम्भिर थिए । सोहि भिडियो समाजिक संजाल र केहि संचार माध्यमले समेत पेज मार्फत न्याय नपाएपछि युवाले गरे आत्मदाहा भन्दै प्रचार गरे । जसका कारण बुधबार प्रहरी र प्रशासनले निकै सास्ती खेपे ।
गृह, प्रहरीका माथिल्ला निकायदेखि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले समेत निगरानी र चासो देखाए । प्रशासनकै अगाडी आत्मदाहाको कुरा संचालमा आएपछि आफुहरुलाई माथिल्लो निकायबाट थुप्रै फोन र स्पष्टिकरण सोधिएकाले जागिरकै चुनौति भएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले गुनासो गरे । ‘गलत प्रचारले हाम्रो जागिरनै धराममा पर्ने देखियो । केहि त संचार माध्यमले समेत लेखे,’गैरेले भने,‘गलत प्रचार गर्नेहरुलाई निगरानी गरेर कारबाही गर्न प्रहरीलाई भनेका छौ ।’ प्रहरीले बुधबार र बिहिबार दिनभर संजालहरुको निगरानी ग¥यो । सोहि क्रममा दुई मिडियाका पेज र एक व्यक्तिलाई पत्ता लगाएर माफी मगाउने र खण्डन गर्न लगाउने काम भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविक किशोर प्रधानले जानकारी दिए ।
सैपाल एफ.एम बझाङको पेज, बीर गोर्खाली टिभी र गुल्मीकै व्यावसायी अर्जुन कार्कीले युवा आफै जलेको भिडियोलाई अतिरञ्जित गरेर आत्मदाहा भनेर गलत प्रचार गरेको प्रहरी उपरीक्षक प्रधानले बताए । उनले गलत सूचनाले स्वयम पीडितलाई थप पीडा दिएकोे, नियाकम निकायहरुले स्पष्टिकरण र सास्ती खेप्नुको साथै आम नागरिकमा निराशा पैदान गरेको बताए । प्रधानले युवाका परिवारले कुरा उठाइरहेकाले उजुरी आए गिरफतार गरेर कारबाही गर्ने समेत जानकारी गराए ।
उनले समाजिक सद्भाव बिग्रने गरेर कुनै पनि माध्यम मार्फत गलत संचार प्रदान गर्न नहुने भएकाले निगरानी र कारबाही अगाडी बढाइएको बताए । पछिल्लो समय सामाजिक संजाल र धमाधम खुलेका संचार तथा युटुवहरु नियन्त्रण बाहिर छन् । जसका कारण नागरिकहरु सहि सूचना पाउनबाट बञ्चित छन् ।