गुल्मी, २० भदौ । गुल्मीमा मानव बेचविखनबिरुद्धको राष्ट्रिय दिवस मनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्लाका विभिन्न सरोकारवालाहरुको सहभागितामा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । कार्यक्रममा सहायक जिल्ला न्यायधिवक्ता मीना थापाले मानव बेचविखनको पृष्ठभूमी, अपराधका प्रकार, अपराध नियन्त्रणसँग सम्बन्धित अन्तराष्ट्रिय एवम् क्षेत्रीय महासन्धी, मानव बेचविखन तथा ओसार–पसार बिरुद्ध नेपालले गरिरहेको काम र नेपालमा मानव बेचविखन तथा ओसार–पसार नियन्त्रण ऐन २०५४ सम्बन्धि कानुन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले गुल्मी जिल्लामा मानव बेचविखनका उजुरी नपरेपनि जिल्लाका नागरिकहरु अन्यत्र ठाउँबाट बेचबिखनको समस्यमा पर्दै आएको बताए । गुल्मीबाट विभिन्न कामको प्रलोभनमा बुटबल लगायतका स्थानमा लैजाने र उतैबाट बेचबिखनमा पर्ने गरेको प्रधानको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दोर्ण बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी, सहायक–प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरे, शसस्त्र प्रहरी प्रमुख सन्जिव कार्की, अनुसन्धान कार्यालय प्रमुख विनय चर्तुभुज, लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।
गृह मन्त्रालयको परिपत्रअनुसार गुल्मीमा पहिलो पटक मानव बेचविखनबिरुद्धको समिति यही भदौ १८ गते सोमबार गठन भएको थियो । जसको अध्यक्षको रुपमा प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी रहेका छन् । त्यस्तै सदस्यहरुमा जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, जिल्ला सरकारी वकिलको कार्यालयको तर्फबाट मीना थापा, प्रहरी उपरीक्षक नविन किशोर प्रधान, पत्रकार महासंघको तर्फबाट हुमाकान्त पोखरेल, प्रमुख जिल्ला अधिकारीको तर्फबाट मनोनित अमरकल्याण बहुउदेश्यीय सहकारी अन्जु पन्थी, पत्रकार अनिता खत्री र आशा अपाङ्ग केन्द्रकी व्यवस्थापक गंगा रायमाझी एवम् जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रहेका छन् । उक्त समितिले जिल्लामा मानव बेचबिखन बिरुद्धको क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ ।