काठमाडौं । अमेरिकाको भर्जिनियामा रहेको नेपाली युवाहरूको क्लब ‘एभरेस्ट लाओन्स भलिबल क्लब’ले केही महिना अगाडि निधन भएका गुल्मीका भलिबल खेलाडी विनोद विकको परिवारलाई सहयोग पठाएको छ । क्लबले पठाएको सहयोग रकम बिहिवार काठमाडौंमा ‘गुल्मेली सहयोगी हातहरु’ अभियानको सहजीकरणमा विनोदका परिवारलाई हस्तान्तरण गरिएको छ । क्लबले स्थानीय प्रतियोगितामा भाग लिदै जित हासील गरि पुरस्कारस्वरुप पाएको पुरस्कारबाट विनोदको परिवारलाई सहयोग स्वरुप ५६५ अमेरिकी डलर ( अक्षरुपी ७३ हजार ७ सय २० रुपैयाँ ) पठाएको हो । क्लबको तर्फबाट क्लब तथा प्रतियोगीताका उत्कृष्ट खेलाडी अनिल भट्टराईमार्फत सहयोग उपलब्ध गराइएको र क्लबका सदस्य गोविन्द घिमिरेले समन्वय गरेको अभियानका उपाध्यक्ष विमल घिमिरेले जानकारी दिए । उक्त रकम मुसिकोट नगरपालिकाका निवर्तमान मेयर सोमनाथ सापकोटा, गुल्मेली सहयोग हातहरू अभियानका अध्यक्ष लिला खरेल र अन्य पदाधिकारीको उपस्थितिमा विनोद विककी आमा सीता विक र दिदी लक्ष्मी विकलाई हस्तान्तरण गरिएको हो ।
गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौर निवासी विनोद भलिबलका उत्कृष्ट र उदियमान खेलाडी थिए । जिल्ला हुँदै नवौ राष्ट्रिय खेलमा प्रदेशबाट छनोट भइ उत्कृष्ट प्रदर्सन गरेका विनोदको अल्पायूमै निधन भएको थियो । फोक्सोको क्यान्सरका कारण २० वर्षको उमेरमा विनोदको निधन भएको थियो । आर्थिक अवस्था कमजोर रहेको विनोदको परिवारका लागि उपचारको क्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए ।
भौतिक रुपमा टाढा भएपनी भावनाले सँगै छौ – क्लब
सहयोग रकमको साथमा क्लबले विनोदको परिवारको पीडामा भावनात्मक रुपमा सँगै रहेको सन्देश समेत पठाएको छ । सन्देशमा भनिएको छ, ‘मान्छेको अभाव पैसाले पूरा गर्न सक्दैन तरपनि पीडित परिवारको केही सामान्य आवश्यकता भने पक्कै पूरा गर्न सक्छ । एक उदियमान खेलाडीको अल्पायुको निधनले क्लब परिवार स्तब्ध छौं । भौतिक रुपमा टाढा रहे पनि हामी परिवारको साथमा छौ ।’
विनोद बिक उदियमान खेलाडी रहेको, नगरपालिकाको गौरव रहेको र उपचारका लागि हरसम्भव प्रयास गर्दापनी बचाउन नसकिएको निवर्तमान मेयर सोमनाथ सापकोटाले बताए । अभियानका अध्यक्ष लिला खरेलले पीडामा रहेको विनोदको परिवारलाई सहयोग पठाउने क्लबलाई धन्यवाद दिए । सहयोग हस्तान्तरण कार्यक्रमको सन्चालन अभियानका सचिव रमेश काउछाले गरेका थिए ।