गुल्मी, ०५ भदौ
गुल्मीको रेसुङ्गा नगरपालिकास्थित नगर विकास तथा वातावरण संरक्षण संस्थाको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम तम्घासमा शुक्रबार सम्पन्न भएको कार्यक्रमबाट राम प्रसाद पन्थीको अध्यक्षतामा २६ सदस्यीय नगर विकास तथा वातावरण संरक्षण संस्थाको गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, महासचिवमा कृष्ण प्रसाद पोखरेल, सचिवमा घनश्याम पाण्डे, कोषाध्यक्षमा उमकला पाण्डे र सह–कोषाध्यक्षमा सीता आचार्य लगायत अन्य सदस्यहरु रहेका छन् । कार्यक्रममा महासचिव कृष्ण प्रसाद पोखरेलले संस्थाको कार्यसमितिको प्रतिवेदन एवम् कोषाध्यक्ष उमकला पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
२०७३ सालमा विधिवत रुपमा तदर्थ समिति गठन गरी स्थापना भएको संस्थाले हाल तम्घास नगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएको छ । दुई वटा सवारी साधनबाट फोहोर व्यवस्थापनको काम गरेको संस्थाले अहिले एक हजार ५०३ घर, सात विद्यालय र २३ वटा वित्तीय संस्था तथा कार्यालयहरु गरी जम्मा एक हजार ५३३ उपभोक्ताहरुलाई सुविधा दिएको छ । जसका लागि नगरपालिकाको वडा नम्बर १, २, ७, ८ र ९ वडालाई विभिन्न २० वटा टोल समितिमा विभाजन गरिएको महासचिव कृष्ण प्रसाद पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाका कोषाध्यक्ष उमकला पाण्डेले गत आर्थिक बर्ष ०७९÷८० को २४ लाख ५३ हजार ९८ रुपैँया बराबरको आर्थिक प्रतिवेदन र चालु आर्थिक बर्ष ०८०÷८१ को ३७ लाख ७६ हजार ७०४ रुपैँया बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रमकै अवसर पारेर संस्थामा विगत १८ बर्षदेखि सवारी चालकको रुपमा काम गर्दै आएका हरी बहादुर थापालाई सम्मान पत्र, दोसल्ला एवम् नगद पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख आतिथि रेसुङ्गा नगरपालिकाकी उप–प्रमुख अमृता देवी कुँवरले संस्थाले नगरको सरसफाईको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै आगामी दिनमा संस्थालाई नगरको तर्फबाट आवश्यक सहयोग गर्ने बताइन् ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, संस्थाका पदाधिकारी, कार्य समिति सदस्य एवम् साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षता, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीको स्वागत मन्तव्य एवम् महासचिव कृष्ण प्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।