गुल्मी, २६ असोज । गुल्मीमा शनिबार अर्थात भोली संचालन हुने दौड प्रतियोगिताको तयारी पुरा भएको छ । शुक्रबार आयोजक संस्था जिल्ला खेलकुद विकास समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको लागि १६ देखि ६१ बर्षसम्मका ४३ जनाले नाम दर्ता गराएका छन् ।
भोली बिहान ०६ः३० बजे प्रतियोगिहरुको सामान्य स्वास्थ्य परीक्षण गरी दौड प्रतियोगिता सुरु हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकीमले जानकारी दिए । प्रतियोगीहरुको नेको इन्स्योरेन्स कम्पनीमा दुर्घटना बीमा गरिएको छ । प्रतियोगिता अवधिमा शसस्त्र प्रहरी र नेपाली प्रहरीले स्वयम् सेवकको रुपमा भूमिका निर्वाह गर्नेछ । त्यसैगरी रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी, जिल्ला अस्पतालले एम्बुलेन्स र रेसुङ्गा माध्यमिक विद्यालयले पोखरीबाट तम्घाससम्म फर्किनको लागि बसको व्यवस्था गरेको अध्यक्ष महाकिमले बताए ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र रेसुङ्गा नगरपालिकाको शिर्ष प्रायोजनमा हुने प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितिय हुनेले आठ र तृतिय हुनेले पाँच हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । दौड प्रतियोगिता लाकुरीमञ्चदेखि रेसुङ्गा पोखरीसम्म १० किलोमिटरको हुनेछ ।
रेसुङ्गाको प्रचारप्रसार गर्न र रेसुङ्गा नगरपालिकाले संचालन गरेको ‘जाउँ हिँड रेसुङ्गा’ कार्यक्रमलाइ प्रभावकारी बनाउन दौड प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा गुल्मीको रेसुङ्गा नगरपालिकाका साथसाथै धुर्कोट, मदाने, मालिका, पाल्पाको तानसेन लगायतका नागरिकले सहभागिता जनाउने भएका छन ।
good 🚶♂️🚶♀️🏃🏃♂️🏃♀️