गुल्मी, ०३ कात्तिक । निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा अलपत्र परेका धेरै आयोजना छन् । त्यत्तिमात्र होइन व्यवसायीकै ढिलासुस्तीका कारण राज्यलाई आर्थिक भारको दायित्व समेत थपिएका धेरै उदाहरण छन् । तर गुल्मीको रेसुङ्गामा निर्माण भएको पार्क पनि संचालनमा नआउँदा अलपत्र जस्तै भएको छ ।
राज्यले पार्क निर्माणपश्चात भुक्तान गर्नुपर्ने दुई करोड २९ लाख रकम भुक्तानी नगर्दा पार्क संचालनमा आउन सकेको छैन । पार्क निर्माणको लागि रेसुङ्गा नगरपालिका र धुलिखेल अर्जुन न्यू लिजा जेभीबीच २०७८ कात्तिकमा सम्झौता भएको थियो । कुल पाँच करोड २९ लाखमा ०७९ चैतमा योजना सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । तर कम्पनीले फागुनमै काम सम्पन्न गरेपनि अहिलेसम्म जम्मा तीन करोड ३० लाखमात्रै भुक्तानी भएको छ ।
कुल ८३ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा भ्यू टावर, बाल उद्यान, हरीयाली दुबो, पोखरी, मनोरञ्जनका साधन लगायतका घुम्नलायक स्थलहरु छन् । तर पार्कको औपचारिक संचालन नहुँदा सर्वसाधारणले सहजै अवलोकन गर्न नपाएको स्थानीय मधु जिसीले बताइन् । ‘पार्क निर्माण भएपनि सहज रुपमा टिकट काटेर अवलोकन गर्न पाइएको छैन ।’ उनले भनिन्, ‘राज्य र व्यवसायीको बिषय राज्यले मिलाउनुपर्छ, सार्वजनिक ठाउँमा निर्माण भएको पार्क हामीले अवलोकन गर्न पाउनुपर्छ ।’ निर्माण व्यवसायी महेन्द्र घिमिरेले समयमै काम गरेपनि समयमै भुक्तान नहुँदा आफुहरु मर्कामा परेको बताए ।
आन्तरिक तथा बाह्य पर्यटन भित्राएर रेसुङ्गा तथा सदरमुकाम तम्घासको चहल–पहल बढाउने उदेश्यका साथ पार्क निर्माण गरिएको थियो । तर पार्क नै संचालनमा आउन नसक्दा पार्क निर्माणको उदेश्य नै ओझेलमा परेको छ । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले आफुहरु निर्वाचित हुनुभन्दा पहिलेको ठेक्का भएको बताए । ‘पार्कको निर्माण प्रक्रिया निकै झन्झटिलो रहेछ, कतै बहुबर्षिय योजनाको सूचिमा पनि छैन ।’ मेयर पन्थीले भने, ‘भुक्तानीका लागि हामीले पहल गरेका छौ ।’ अबको एक÷दुई दिनमै निर्माण व्यवसायलाई भुक्तानी दिने र त्यसपछि पार्क संचालनमा आउने पन्थीले बताए ।