हुमाकान्त पोखरेल
गुल्मी, १० कात्तिक । जिल्ला भलिबल संघ, गुल्मीको आयोजनामा यहि कात्तिक १५ देखि १८ गतेसम्म हुने पालिकास्तरीय भलिबल प्रतियोगितामा गुल्मीका पालिकाहरु खेलाडी छनोटमा लागेका छन् । जिल्लाका केही पालिकाले खेलाडी छनोट कार्य सम्पन्न गरिसकेका छन् भने कतिपय छनोट प्रक्रियामा रहेका छन् । जिल्ला भलिबल संघले चार दिनसम्म सदरमुकाम तम्घासको चिदिचौरमा पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । जसमा पालिकाहरु खेलाडी छनौटमा व्यस्त देखिएका छन् । चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिकाले पुरुष र महिलाको भलिबल समुह तयार गरेका छन् । छनोट भएका खेलाडीहरुलाई अभ्यासको तयारी रहेको सम्बन्धित पालिकाले जनाएका छन् । रुरुक्षेत्रले बिहीबार मात्रै खेलाडीको छनोट गरेको हो । गुल्मीदरबार गाउँपालिकाले आइतबार वडास्तरीय भलिबल प्रतियोगिता राखेको छ । प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीका अनुसार प्रत्येक वडाबाट उत्कृष्ट हुने खेलाडी पालिकाले छनोट गर्नेछ । गुल्मीदरबारबाट पुरुष र महिला दुवै टिम सहभागि हुने पन्थीले बताए ।
जिल्लाको मदाने, मालिका र छत्रकोट गाउँपालिकामा छनोट समिति बनाइएको छ । मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले खेलाडी छनोटकै प्रक्रियामा रहेको र केही दिनमै फाइनल हुने बताए । मालिकाले सूचना नै जारी गरेर खेलाडीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । मुसिकोट र इस्माले खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पु¥याएका छन् । दुवै पालिकामा प्रतिस्पर्धाबाट खेलाडी छनोट हुन लागेको हो । मुसिकोट र इस्मा दुवैले महिला र पुरुष दुवै समुहलाई प्रतिस्पर्धा गराउदैँछन् । मुसिकोटले खेलाडीको लागत पनि पालिकाबाटै व्यहोर्ने तयारी गरेको मेयर जीवलाल खरेलले जानकारी दिए । छत्रकोट गाउँपालिकाले आइतबार खेलाडी छनोट गर्दैछ ।
गाउँपालिकाका खेलकुद प्रवद्र्धन समितिका संयोजक झकबहादुर मिदुनका अनुसार पालिका अध्यक्षले बजेटको अभाव देखाएको बताए । मदाने, मालिका र छत्रकोटले सम्भव भएसम्म महिला र पुरुष दुवैको टिम, नभए पुरुषको टिम मात्रै भएपनि पठाउने तयारी गरेका छन् । धुर्कोट गाउँपालिकाले पनि महिला र पुरुष दुवै खेलमा सहभागिता जनाउने भएको छ । अध्यक्ष भुपाल पोखरेलका अनुसार अब केही दिनमै खेलाडीको टुङ्गो लाग्नेछ । रेसुङ्गा नगरपालिकाले खेलाडी छनोटका लागि आवेदन खुला गरेको छ । शुक्रबारसम्म प्रत्येक वडामा सम्बन्धित खेलाडीले आवेदन दिएको र आइतबारबाट छनोटको प्रक्रिया सुरु हुने शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिए । कालिगण्डकी गाउँपालिकाले आइतबारबाट खेलाडी छनोटको प्रक्रिया सुरु गर्ने जनाएको छ भने सत्यवती गाउँपालिकाले केही दिनमै खोलाडीकाे टुंगाे लगाउने जनाएको छ ।
यस्तो छ पुरस्कारको व्यवस्था
जिल्ला भलिबल संघ, गुल्मीका महासचिव नारायण आचार्यका अनुसार खेलाडी उपलब्ध गराउनका लागि सबै पालिकामा पत्र पठाइसकिएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई ७७ हजार ६६६, द्धितिय हुनेलाई ५५ हजार ५५५, तृतिय हुनेलाई ३३ हजार ३३३ र सान्त्वना हुनेलाई ११ हजार १११ प्रदान गरिने आचार्यले बताए । महिला भलिबलतर्फ प्रथम हुनेलाई ३५ हजार, द्धितिय हुनेलाई २५ हजार, तृतिय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार प्रदान गरिनेछ । पुरुष र महिला दुवैतर्फ प्रथम र द्धितिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने तृतिय र सान्त्वना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिने महासचिव आचार्यले जानकारी दिए ।