हुमाकान्त पोखरेल
गुल्मी, १२ कात्तिक । पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरुमा सराँय नाँच भएको छ । खुँडा, भाला, तरबार, ढाल लगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिने गरी पञ्चेबाजासहितको तालमा सराय नाचिन्छ । गुल्मी, अर्घाखा“ची, प्युठान, पाल्पा, स्याङ्जा लगायतका पहाडी जिल्लाका शक्तिपिठमा दशैंको भोलीपल्टबाट पूर्णिमासम्म सराँय नाच्ने प्रचलन छ । गुल्मीमा सराँय नाँच अधिकाशं ठाउँमा संकटमा पर्दै गएको छ भने कतिपय ठाउँमा संरक्षणको प्रयास गरिएको छ ।
पछिल्लो समय नाच्ने कम र हेर्ने धेरै हुँदै गएका छन् । अहिले सरायँ नाच हेर्नेको भिड लाग्छ तर नाच्ने मान्छे हुदैँनन् । पहिले–पहिले सरायँ नाच्न पालो नपाइने ठाउँमा समेत अहिले सराँयको गोल पुग्दैँन । ‘यो चौरमा पनि पहिले नाच्ने ठाउँ नै हुदैनथ्यो, तर अहिले धेरै मान्छे देखिदैनन् ।’ धुर्कोट गाउँपालिका–०४ जैसिथोकस्थित बाहुनगाउँमा त्रायोदशिका दिन सरायँ खेल्न आएका स्थानीय फर्सबहादुर पोखरेलले भने, ‘पहिलेभन्दा धेरै कम रमाइलो लाग्न थालेको छ ।’ युवा पुस्ता विदेशीनु तथा मन्दिर ब्यवस्थापन समितिले राम्रोसँग ब्यवस्थापन नगरेको कारण यस्तो स्थिति आएको उनले बताए ।
सोहि ठाउँकै ५६ ज्ञान बहादुर नेपालीलाई पनि यसपटकको सराँय खासै चित्त बुझेन । प्रत्येक बर्ष भट्ट्याउदैँ सरायँ नाच्ने गरेका नेपाली केहि बर्षयता भने सरायँ नाच्ने जोडि नपुगेर चिन्तित छन् । ‘युवा पुस्ता धेरै शहरतिर पसे, बाजागाजा पनि धेरै व्यवस्थित भएनन् ।’ उनले भने, ‘सराँयलाई सबै मिलेर बचाउनुपर्छ ।’ बाजागाजा ब्यवस्थित गरेर र युवापुस्तालाई तालिम नै दिएर भएपनि सँस्कृति जोगाउनुपर्नेमा उनले जोड दिए । साथै केहिबेर रमाइलो गर्ने युवाहरुमा कुनै लय र मेलो नहुने पनि उनले बताए । पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । चाँपटारीबाट फुलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारीहरु झरेपछि मैदानमा करिव डेढ घण्टा रोचक पट्टा नाँच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको स्थानीय बताउछन् ।
हतियार प्रदर्शनमा रोक, सँस्कृति लोप
मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरवार, खु“डा, खड्ग आदि हतियार एक आपसमा ठोक्याउ“दै ‘वाख्खै वा’ को भाषामा सराँय खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरुन्’, ‘बाँचे आइसल’ जस्ता भाषा सराँय नाचमा प्रयोग हुन्छन् । केहि समय पहिले हतियारनै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम त्यो छैन् । हतियार प्रर्दशन गर्दा दुर्घटना हुने डर बढि हुने भएकाले यो पछिल्लो समय छोडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ ।
पहिले पहिले राति अबेरसम्म हुने सरायँ नाच पनि अहिले बेलुका बढीमा ५÷६ बजेसम्म मात्रै हुन्छ । यो बिषयले बुढापाका भने सन्तुष्ट छैनन् । ‘हतियारबिना त सरायँ नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने’ मालिका गाउँपालिकाका का ८२ बर्षिया दुर्गा बहादुर नेपालीले भने, ‘यस्ता कुराले मन नरमाइलो हुँदा े रहेछ ।’ सरायँ नाच नेपालका केहि पश्चिमि जिल्लामा मात्र नाच्ने गरिन्छ । सरायँ हेर्नकै लागि बसाई सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कन्छन् । सराँय नाँच्ने शक्तिपिठमा हेर्ने र नाँच्नेले आनन्द मात्र लिदैँनन्, धेरैले ब्यापार गर्ने अवसरसमेत पाँउछन् ।
इस्मामा संरक्षणको प्रयास
सराँय नाँच लोप हुदैँ जान थालेपछि गुल्मीको इस्मा गाउँपालिका –२ ताल्तुङका युवाहरु भने संरक्षण गर्न लागेका छन् । सराँय नाँचको संस्कृति बचाउन र नयाँ पुस्तालाई सिकाउन ताल्तुङमा नाँच नाँचिएको स्थानीय युवा राजेन्द्र विक्रम कुँवरले जानकारी दिए ।
यसरी सुरु भयो सराँय
घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन । पछि महाकाली ठूली हुँदै गइन् । र राक्षसलाई मारिन पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पुजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टिका लगाउने प्रचलन बस्यो । भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ बर्ष अघि द्धापरयुगमा सरायँ खेल्न थालिएको इतिहास छ । एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सरायँ नाच्ने गरिन्छ । द्धादशिको दिन बुल्म, त्रायोदशिको दिन जैसिथोकको बाहुनगाँउ, चर्तुदशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जै लगायतका क्षेत्रमा सरायँ नाच्ने गरिन्छ ।