हुमाकान्त पोखरेल
गुल्मी, १२ कात्तिक । गुल्मीमा प्रहरीमाथि कुटपिट भएको छ । जिल्लाको मालिका गाउँपालिका –४ अर्खबाङ्गमा सराँय सकिएपछि मादक पदार्थ सेवन गरेर झगडा गरेका युवाहरुलाई छुट्याउने क्रममा प्रहरीमाथि नै आक्रमण भएको हो । स्थानीयको आक्रमणमा परी प्रहरी चौकी अर्खबाङ्गका प्रहरी सहायक निरीक्षक विष्णु बहादुर गाहा र अर्का एक हवल्दार घाइते भएका छन् ।
घाइते प्रहरी कर्मचारीहरुलाई थप उपचारको लागि भैरहवा लगिएको गुल्मी प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मालिका गाउँपालिका –३ का ३९ बर्षिय सन्त बहादुर थापा, २४ बर्षिय अनिल थापा, १९ बर्षिय विशाल थापा, २२ बर्षिय विकल्प थापा, ३३ बर्षिय नरेन्द्र थापा रहेका छन् । त्यसैगरी वडा नम्बर ३ कै ३१ बर्षिय भरत थापा, ४२ बर्षिय नारायण पाण्डे, १९ बर्षिय विपिन थापा, ३३ बर्षिय गुञ्ज बहादुर थापा रहेका छन् ।
त्यस्तै मालिका गाउँपालिका वडा नम्बर २ निवासी २७ बर्षिय केशव खड्का, वडा नम्बर ८ निवासी २० बर्षिय साहिल जिसी र रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर ११ घर भई हाल मालिका गाउँपालिका वडा नम्बर ६ मा डेरा गरी बस्ने २४ बर्षिय अनिल ठकुरी रहेका छन् । उनीहरुमाथि सार्वजनीक शान्ति विरूद्दको कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लिनारायण पाण्डेले जानकारी दिए । घटना कात्तिक १० गते राति ८ः४० को भएपनि प्रहरीले १२ गते साँझ मात्रै सूचना दिएको छ ।