प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा , २१ समुहको सहभागीता

मनोज कार्की
कार्तिक १४, गुल्मी – गुल्मीमा हुनलागेको प्रथम पालिकास्तरीय भलिबल प्रतियोगितामा १२ पालिकाबाट २१ समुह सहभागी हुने भएका छन् । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर प्रथम गुल्मी भलिबल कप २०८० को सम्पुर्ण तयारी सकिएको जानकारी दिएको छ । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी खेलमा सहभागी हुन पाउने छैनन् ।

बुधबारदेखि कार्तिक १८ गतेसम्म संचालन हुने भलिबल प्रतियोगितामा चन्द्रकोट, छत्रकोट र मदाने गाउँपालिकाका महिला खेलाडी सहभागीता नरहेको जिल्ला भलिबल संघ गुल्मीले जनाएको छ ।

जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि दसैं र तिहार पर्वको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको आयोजना गरिएको गुल्मी भलिबल संघका महासचिव नारायण आचार्यले जानकारी दिए।

पुरुष भलिबल खेलमा प्रथम हुनेले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ कप, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै द्वितीय ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीया ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले नगद ११ हजार १ सय ११ रुपैयाँ ,कप, मेडल र प्रमाणपत्र पाउने छन्।

त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वनाले हुने नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

पछिल्लो समय गाउँ शहरमा देशको राष्ट्रिय खेल भलिबल हराउँदै गएकाले यसको संरक्षण र खेलाडी उत्पादन गर्न भलिबल कपले थप टेवा पुग्ने जिल्ला भलिबल सघ गुल्मीका अध्यक्ष राजन कुँवरले बताए ।राष्ट्रिय,अन्तर्राष्ट्रिय तथा पुर्व खेलाडीलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा