हुमाकान्त पोखरेल, गुल्मी
१५ कात्तिक । गुल्मीमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा गुल्मी सदरमुकाम तम्घासको चिदिचौरमा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो । खेलको प्रमुख अतिथि जिल्ला समन्वय समति प्रमुख दोर्ण खत्रीले उद्घाटन गरेका थिए । बुधबार दुईवटा पुरुषतर्फका खेल भएका छन् । रेसुङ्गा नरपालिका र मालिका गाउँपालिकाबीचको खेल मालिकाले जितेको छ ।
त्यसैगरी मदाने र छत्रकोट गाउँपालिकाबीच भएको खेल मदानेले सोझो सेटमा जितेको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । भोली बिहीबार महिलातर्फका पाँचवटा र पुरुषतर्फका दुईवटा खेल हुनेछन् । महिलातर्फ रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका र गुल्मीदरबार गाउँपालिका, मालिका र रुरुक्षेत्र गाउँपालिका एव्ं धुर्कोट र कालिगण्डकी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी रेसुङ्गा र मालिकाको विजेतासँग सत्यवती गाउँपालिका खेल्नेछ । पुरुषतर्फ गुल्मीदरबार र इस्मा गाउँपालिका एव्ं धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाबीच प्रतिस्पर्धा हुने खेल संयोजक सन्तोष पुनले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख तेजेन्द्र सलामी, मदाने गाउँपालिका अध्यक्ष महेन्द्र कुँवर, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज थापा, मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का लगायत विभिन्न संघ संस्थाका प्रमुख एव्ं प्रतिनिधि, पत्रकार, विभिन्न वडाका वडाध्यक्षहरु, पूर्व खेलाडी, विभिन्न पालिकाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता यही कात्तिक १८ गतेसम्म संचालन हुनेछ ।
पुरुषतर्फको भलिबल खेलमा प्रथम हुनेले ७७ हजार ७७७, द्धितिय हुनेले ५५ हजार ५५५, तृतिय हुनेले ३३ हजार ३३३ र सान्तवना हुनेले ११ हजार १११ प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फको खेलमा प्रथम हुनेले ३५ हजार, द्धितिय हुनेले २५ हजार, तृतिय हुनेले १५ हजार र सान्तवना हुनेले १० हजार रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिताका सबै विजेतालाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरको अध्यक्षता, उपाध्यक्ष होम बहादुर थापाको स्वागत मन्तव्य एव्ं महासचिव नारायण आचार्यको संचालनमा सम्पन्न भएको थियो ।