हुमाकान्त पोखरेल
गुल्मी, १६ कात्तिक । जिल्ला भलिबल संघ, गुल्मीको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा आज बिहीबार छ वटा खेलहरु भएका छन् । गुल्मी सदरमुकाम तम्घासको चिदिचौरमा भएको खेलमा महिलातर्फ पाँच र पुरुषतर्फ एक खेल भएका हुन् । महिला भलिबलतर्फ धुर्कोट र कालिगण्डकीबीचको खेलमा ११–२५ र २२–२५ को अन्तरले कालिगण्डकीले जित हाँसिल गरेको छ । त्यसैगरी इस्मा र रेसुङ्गाबीचको खेलमा २५–१६ र २५–२० अन्तरले इस्मा गाउँपालिकाले, गुल्मीदरबार र मुसिकोटबीचको खेलमा २५–१९, २१–२५ र १५–१३ को अन्तरले गुल्मीदरबारले जित हाँसिल गरेको छ ।
रुरुक्षेत्र र मालिकाबीचको खेलमा २१–२५, २५–२२ र १५–७ अन्तरले रुरुक्षेत्र एव्ं इस्मा र सत्यवतीबीचको खेल १६–२५, २५–२३ र २–१५ ले सत्यवतीले जितेको छ । पुरुष भलिबलतर्फ गुल्मीदरबार र इस्मा गाउँपालिकाबीचको खेल २५–२२ र २५–२० को अन्तरले गुल्मीदरबारले जितेको खेल संयोजक सन्तोष पुनले जानकारी दिए । यसैगरी भोली शुक्रबारको पहिलो खेलमा पुरुषतर्फ धुर्कोट र रुरुक्षेत्र भिड्नेछन् ।
त्यसपछि क्वाटरफाइनलमा पुरुषतर्फ मालिका र सत्यवती, मदाने र चन्द्रकोट, गुल्मीदरबार र मुसिकोट एव्ं धुर्कोट र रुरुक्षेत्रको विजेतासँग कालिगण्डकी गाउँपालिका खेल्ने आयोजकले जनाएको छ । सम्भव भएसम्म महिलातर्फको पनि खेल खेलाइनेछ । महिलातर्फ भने सेमिफाइनलमा सत्यवती र रुरुक्षेत्र, गुल्मीदरबार र कालिगण्डकी गाउँपालिका भिड्नेछन् । हिज कात्तिक १५ गतेबाट सुरु खेल कात्तिक १८ गतेसम्म चल्नेछ । खेलमा प्रेम कुँवर मुख्य प्रायोजक रहेको जिल्ला भलिबल संघका महासचिव नारायण आचार्यले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई ७७ हजार ६६६, द्धितिय हुनेलाई ५५ हजार ५५५, तृतिय हुनेलाई ३३ हजार ३३३ र सान्त्वना हुनेलाई ११ हजार १११ प्रदान गरिने छ । महिला भलिबलतर्फ प्रथम हुनेलाई ३५ हजार, द्धितिय हुनेलाई २५ हजार, तृतिय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार प्रदान गरिनेछ । पुरुष र महिला दुवैतर्फ प्रथम र द्धितिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने तृतिय र सान्त्वना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिने महासचिव आचार्यले जानकारी दिए ।