गुल्मी ।
गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । बुधबार र बिहीबार जिल्लाको छत्रकोट गाउँपालिकामा १४ र रुरुक्षेत्र गाउँपालिकामा तीन जनालाई कुकुरले टोकेको हो । कुकुरले टोकेर घाइते भएका सबैलाई उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको थियो ।
जसमध्ये छत्रकोटका १४ र रुरुक्षेत्रका एक गरी १५ जना घर फर्किएका छन् । रुरुक्षेत्रका दुईजना अझै पनि मिसन अस्पतालमा रहेका छन् । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार एकजना ७२ बर्षिया महिलाको हातको औँला टोकेकोले शल्यक्रिया गर्नुपर्ने भएको छ । त्यस्तै अर्को एकजनाको साप्रा र औँलामा टोकेकोले थप उपचारको लागि मिसन अस्पतालमै राखिएको छ ।
छत्रकोट गाउँपालिकाका पशु शाखा प्रमुख टेक बहादुर खनालले दुई दिनसम्म कुकुरले आतकं नै फैलाएको बताए । यद्यपी उपचारमा गएका छत्रकोटका सबै नागरिक घर फर्किएको उनले बताए । कुकुरले अधिकाशंको खुट्टामा टोकेको थियो । कुकुरले टोकेका १३ देखि ७५ बर्षसम्मका रहेका छन् ।