हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीका किसानलाई धान स्याहार्न भ्याइनभ्याई छ । साउनमा रोपेको धान पाकिसकेको र तिहार नजिकिदै गरेकोले पनि किसानहरुलाई धान स्याहार्न भ्याइनभ्याई भएको हो । किसानहरु यतिबेला खेतमा धान काट्दै गरेको, झाट्दै गरेको एवं धान उठाउदैँ गरेको अवस्थामा भेटिन्छन् । यस बर्ष सरकारले समयमै रासायनिक मल पठाउदा धानको उत्पादन समेत बढेको छ । मदाने गाउँपालिका –३ सिर्सेनीका दिनेश भट्राईले केही दिनदेखि आफुहरु धान धान र भित्राउन व्यस्त रहेको बताए । आफ्नो पाँच हलको खेतमा यसबर्ष २६÷२७ मुरी धान फल्ने अपेक्षा रहेको बताए । ‘गत बर्ष जम्मा १७ मुरी धान फलेको थियो । उनले भने, ‘सरकारले समयमै मल उपलब्ध गराउदा यस बर्ष उत्पादन बढ्ने देखिएको छ ।’ यस बर्षको धान अहिले काट्दै गरेको उनले बताए ।
मालिका गाउँपालिका –८ किसानटारीकी खिमकुमारी लम्साल पनि आजकाल धान काट्नमै व्यस्त छिन् । दुई हलको मेलो रहेको खेतमा गत बर्ष १० मुरी धान फलेको थियो । यस बर्ष समयमै रासायनीक मलको उपलब्धताले गर्दा उत्पादन बढ्ने लक्ष्य लिएको बताइन । भट्राई र लम्साल मात्र होइन्, धुर्कोट गाउँपालिका–७ वाग्लाकी सावित्रा पन्थी पनि खोताला लगाएर धान झाट्न व्यस्त छिन् ।
‘गोरुले जोत्दा तीन हलको मेलो छ, ट्याक्टरले जोते नौ देखि १२ घण्टासम्म हुन्छ ।’ उनले राजधानीसँग भनिन्, ‘अहिले धान स्याहार्न भ्याइनभ्याई छ ।’ यस बर्ष समयमै डिएपी, युरिया लगायतका रासायनिक मल सरकारले समयमै उपलब्ध गराउँदा धान उत्पादनमा बृद्धि हुने उनले बताइन् । एक हलको मेलोमा मलअनुसार ठुलो धान १६ मुरीसम्म उत्पादन हुने पन्थीको भनाई छ । तर धान उत्पादनको लागि खेतालाको भने अभाव रहेको उनले बताइन् ।
यस बर्ष धान उत्पादनमा केही बृद्धि हुने भएपनि विगतका बर्षहरुमा समयमै रासायनिम मल नपाउँदा किसानलाई हैरानी भएको थियो । यसै बिषयलाई मध्यनजर गर्दै किसान कुलानन्द घिमिरेले सरकारले धानखेतीमा लाग्ने रोगको औषधी दिनुपर्ने बताए । ‘समयमै मल, बीउ र औषधी सरकारले दिनुप¥यो ।’ उनले भने । गुल्मीमा ३५० हेक्टरमा चैते र आठ हजार ८०३ हेक्टरमा बर्षे गरी कुल नौ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जिल्लामा २७ देखि ३० हजार मेक्ट्रिक टनसम्म धान उत्पादन हुने गर्दछ । जिल्लाको इस्मा गाउँपाकिाको चौरासी, मालिका गाउँपालिकाको किसानटारी, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर लगायतका स्थान धान उत्पादन हुने मुख्य फाँटहरु हुन्् ।
जिल्लामा चैते धान ३५० हेक्टरमा र बर्षे धान आठ हजार ८०३ हेक्टरमा गरि जम्मा नौ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । मसिना र बास्नादार चामलको उपयोगमा बृद्धि र आयातित चामलको गुणस्तरसँग स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा चामलको आयात बढिरहेको छ । जिल्लामा स्थानीय स्तरका रैथाने धान हंशराज, जर्नेली धान, आपजोते लगायतका जातको धान लगाइन्छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यस बर्ष जिल्लामा १० प्रतिशतले धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । गत बर्षभन्दा जिल्लामा दुई हजार हेक्टर कम जग्गामा बर्षे धान लगाइएको छ । तर गत बर्षभन्दा उत्पादकत्वमा प्रति हेक्टर वा रोपनीमा १० प्रतिशतले बृद्धि हुने कार्यालयका प्रमुख नवराज भण्डारीले बताए । अहिले किसानहरु धान स्याहार्नमा नै व्यस्त भएकोले जिल्लाको धान उत्पादनसम्बन्धि सबै तथ्याङ्क आइसकेको छैन । ज्ञान केन्द्रले प्राविधिक बिषय मात्रै हेर्ने भएकोले मल र बीउको सन्दर्भमा भने सरकारले नै ध्यान दिनुपर्ने भण्डारीले बताए ।