प्लस टु संचालन गर्न चन्दा संकलन

हुमाकान्त पोखरेल
गुल्मी, । गुल्मीको धुर्कोट गाउँपालिका–०२ पिपलधारास्थित गणेश माध्यमिक विद्यालयले प्लस टु अर्थात कक्षा ११ र १२ संचालन गर्न चन्दा संकलन अभियान संचालन गरिरहेको छ । प्लस टु संचालनका लागि सरकारबाट दरबन्दी नपाएपछि विद्यालयले चन्दा संकलन अभियान सुरु गरेको हो । पिपलधाराका विद्यार्थीहरु कक्षा १० पास गरेपछि प्लस टु अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागि गणेश माध्यमिक विद्यालयमा प्लस टु संचालनको योजना ल्याइएको थियो । २०७५ साल फागुन १४ मा तत्कालिन वडाध्यक्ष नविन जिसीको संयोजकत्वमा ‘आर्थिक संकलन समिति अभियान’ नै बनाएर विद्यालयका लागि चन्दा संकलन अभियान सुरु गरिएको थियो ।

त्यसपछि लगत्तै ०७६ सालबाट कक्षा ११ सुरु भयो । अहिले गणेश माविमा शिक्षाशास्त्र शंकायअन्तरगत अंगे्रजी, अर्थशास्त्र र नेपाली बिषय अध्यापन हुन्छ भने व्यवस्थापन शंकायअन्तरगत विजनेश स्डटी, वित्त शास्त्र, अकाउन्ट र अर्थशास्त्र अध्यापन हुदैँ आएको छ । विद्यालयमा तल्लो तहमा कार्यरत माथिल्लो योग्यता भएका शिक्षकहरुबाट प्लस टु संचालन गरिएको छ । प्रधानाध्यापक कृष्ण बहादुर जिसीका अनुसार कक्षा १० सम्म अध्यापन गर्न पनि शिक्षकको अभाव छ ।

हाल विद्यालयमा मावि तहमा दुईवटा राहत र एउटा दरबन्दी गरी तीनओटा, निमाविमा चार, प्राविमा पाँच, बालविकासको एक र विद्यालय कर्मचारी दुई गरी कुल १५ दरबन्दी छन् । त्यो भन्दा बाहेक विद्यालयले मावि र प्राविमा एक÷एक जना शिक्षक निजी स्रोतबाट तलब दिनेगरी नियुक्ती गरेको छ । कक्षा ११ र १२ संचालन सहित शिक्षकहरुको तलबभत्तामा ८० हजार अर्थात बार्षिक १० लाख ४० हजार खर्च हुन्छ । तर विद्यालयको आम्दानी भने बार्षिक अनुमानित अधिकतम चार लाखसम्म हुन्छ । त्यसै आर्थिक स्रोतलाई व्यवस्थापन गरी प्लस टु संचालनका लागि आर्थिक संकलनको अभियान सुरु गरिएको थियो । हाल विद्यालयमा कक्षा ११ मा ३१ र १२ मा २७ जना विद्यार्थी रहेका छन् ।

०७५ मा सुरु गरिएको अभियान ०७७ र ०७८ मा कोभिड तथा ०७९ मा निर्वाचनको कारणले स्थगित गरिएको थियो । लगत्तै ०८० साउनको पहिलो सातादेखि नै आर्थिक संकलन अभियान समिति सक्रिय भई चन्दा संकलनको कामलाई तिब्रता दिएको छ । अघिल्लोपटक सुरु गरिएको अभियानमा २६ लाख संकलन भएको थियो । हाल ४४ लाख रकम उठेको छ । यसरी ७० लाख नगद र बोल कबुल रकम २० लाख रहेको प्रध्यानाध्यापक जिसीले बताए ।

पूर्व वडाध्यक्ष समेत रहेका ‘आर्थिक संकलन समिति अभियान’का संयोजक नविन जिसीले एक करोडभन्दा बढी रकम संकलन गर्ने लक्ष्य रहेको बताए । संकलित रकम बैंकमा राख्ने र त्यसैको व्याजबाट विद्यालयमा प्लस टु संचालन गर्ने संयोजक जिसीले बताए । हालसम्म उठेको रकम बैंकमा जम्मा गरिएको छ । रकम संकलनका लागि देश एवं विदेशमा भएका पिपलधाराबासीसँग अनुरोध गरिएको जिसीले बताए । ‘गाउँमै उच्च शिक्षा संचालनलाई निरन्तरता दिने उदेश्य हो ।’ उनले भने, ‘आफुसक्दो सहयोग गर्नु सहयोग गर्न सबैलाई अपिल गरेका छौ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा