गुल्मी ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १ मा रहेको अर्जुन इङ्गिस बोर्डिङ स्कूलमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गर्ने अतिरिक्त क्रियाकलापअन्तरगत विद्यालयले आज शुक्रबार प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थी आफैले स्थानीय स्तरमा उपलब्ध स्रोत र साधन प्रयोग गरेर नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका बिषयको आकर्षक सामग्री निर्माण गरेका थिए ।
जसमा विज्ञानतर्फ रकेट, ज्वालामुखी, कार्नेबल राइड, स्मार्ट सिटी, पिस्ने मिल लगायतका सामग्री बनाइएको प्रिन्सिपल दान बहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै अङ्ग्रेजी र नेपाली बिषयका व्याकरण सम्बन्धि, सामाजिक विषयअन्तरगत स्वयम्भू, पञ्जेबाजाका नमुना एवं राष्ट्रिय विभूतिहरुको तस्विर निर्माण गरिएको थियो । गणितर्फ गणित बिषयलाई बुझ्न सजिलो हुने खेलकुद कार्यक्रम संचालन गरिएको थियो ।
विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी उनीहरुको प्रतिभा प्रस्फुटन गर्ने र पठन–पाठनसँगै व्यवहारिक ज्ञान बृद्धिको लागि शैक्षिक प्रदर्शनी गरिएको विद्यालयका सहायक प्रिन्सिपल विवेक पन्थीले जानकारी दिए । शैक्षिक प्रदर्शनीले विषयगत बिषयमा विद्यार्थीहरुलाई अब्बल बनाउन सहयोग पुग्ने पन्थीले बताए ।
कार्यक्रममा उपस्थित रेसुङ्गा नगरपालिकाकी उप–मेयर अमृता देवी कुँवरले अर्जुन इङ्गिस बोर्डिङ स्कूलले संचालन गरेको शैक्षिक प्रदर्शनी अन्य विद्यालयले पनि अनुकरण गर्न योग्य रहेको बताइन् । यसका साथै विद्यालयले प्रत्येक हप्ताको शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएको छ । विद्यालयले ब्रिटिश काउन्सिलबाट सन् २०२० देखि २०२३ सम्मको लागि ‘इन्टरनेशन अवार्ड’ पनि प्राप्त गरेको छ । शैक्षिक प्रदर्शनी कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।