प्रदिप भुसाल, गुल्मी
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानअन्तरगत गुल्मीको रेसुङ्गा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधान र रेसुङ्गा बहुमुखी क्याम्पसका प्रध्यापक गुणनिधी शर्माले नेपालमा लैङ्गिक हिसांको अवस्था, कानुनी उपचार, हिसांका घटना घट्ने र न्यूनिकरण गर्ने उपायबारे प्रशिक्षण दिएका थिए । ‘लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको एक्यवद्धता’ भन्ने मूल नारा सहित सम्पन्न कार्यक्रममा सहभागी र प्रशिक्षकबीच अन्तरक्रिया समेत भएको थियो ।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उप मेयर अमृता देवी कुँवरले महिला हिसां न्यूनिकरणका लागि सबै एकजुट हुनपर्ने बताइन् । अहिले १६ दिनमात्रै नभएर नगरले अन्य समयमा पनि महिला हिसां न्यूनिकरणका लागि काम गर्ने कुँवरको भनाई छ । नगरप्रमुख खिलध्वज पन्थीले महिला हिसां न्यूनिकरण गर्नको लागि उनीहरुलाई अर्थोपार्जनतर्फ उन्मुख गराउनुपर्ने बताए । ‘आधुनिक, सभ्य र न्यायपूर्ण समाज निर्माणको लागि महिला हिसां अन्त्य गर्नुपर्छ ।’ नगरप्रमुख पन्थीले भने ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद अर्याल लगायत विभिन्न वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु, कर्मचारी, पत्रकार, विभिन्न विद्यालयका शिक्षिका लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगरप्रमुख पन्थीको अध्यक्षता, समाजिक विकास समिति संयोजक लिलाधर आचार्यको स्वागत मन्तव्य तथा कर्मचारी पार्वती पन्थीको संचालनमा सम्पन्न भएको थियो । यही मंसिर ९ गतेबाट सुरु भएको कार्यक्रम २४ गतेसम्म चल्नेछ ।