हुमाकान्त पोखरेल
गुल्मी । मंसिर अन्त्यतिरको जाडो । टिनको छानो सहितको सिमेन्टको चिसो एकतले भवन । ८४ बर्षिया बृद्धा पवी खत्री सेतो वस्त्रमा त्यही भवनमा दिन कटाउछिन् । न खुट्टामा चप्पल, न जिउमा तातो कपडा । न ओढ्ने–बिछ्याउने गतिलो कपडा । उक्त भवन पनि गाउँको एक सहकारीको हो । उनी गरिब वा विपन्न भएर उक्त सहकारीको भवनमा भने बसेकी होइन्न् । उनको आफ्नै घर–सम्पत्ति छ । साथमा एक छोरी पनि । घटना हो, गुल्मीको मदाने गाउँपालिका–०६ पुर्कोट दहको । पवीको परिवारले श्रीमानको मृत्युपछि काजकिरिया गर्न नदिएपछि उनी संस्थाको भवनमा श्रीमानको काजकिरिया गर्न बाध्य भएकी हुन् ।
घटना के हो ?
मदाने गाउँपालिका–०६ का तुल बहादुर खत्रीको तत्कालिन समयमा छिमेकी समेत रहेकी पवी थापासँग हिमचिम बढ्यो । श्रीमानलाई पहिले नै गुमाएर एकल भएकी पवीसँग चार सन्तान थिए । सम्बन्ध बढेपछि श्रीमती र दुई छोरामाथि तुल बहादुरले ०२७ सालमा पवीलाई पनि विवाह गरे । ०२८ सालमा पवी र तुल बहादुरबाट एक छोरी जन्मिइन् । छोरी नन्दा थापा हाल मदानेकै ‘पुर्कोट दह स्वास्थ्य चौकी’मा इन्चार्ज छिन् ।
विवाहपश्चात तुल बहादुर रोजगारीको शिलशिलामा भारत जाने–आउने गरे । पवीको आफ्नै पहिलेको घर भएकोले नयाँ घरमा बसिनन् । यही मंसिर १० गते तुल बहादुरको मृत्यु भयो । परिवारले रिडीमा दाहासंस्कार गरे ।
हिन्दु परम्पराअनुसार श्रीमानको मृत्युपछि श्रीमतीले चुरा फुटाउनेदेखि सेतो वस्त्रमा काजकिरिया गर्ने चलन छ । श्रीमानको मृत्युपछि पवीले घरमै (जहाँ तुल बहादुर बस्थे) काजकिरिया गर्ने इच्छ्या गरिन् । तर तुलबहादुरका छोराहरुले घरमा ठाउँ दिएनन् । तुल बहादुरका जेठा छोरा लोक बहादुर हुलाक कार्यालय, पुर्कोट दहका प्रमुख हुन् भने कान्छा छोरा धन बहादुर रोजगारीको लागि भारत जाने–आउने गर्छन । लोक बहादुरका एक छोरा दिपक मदाने गाउँपालिकाका प्राविधिक र अर्का छोरा प्रहरीमा जागिरे छन् ।
‘बुबा (तुल बहादुर)को मृत्यु भएको दिनदेखि नै आमालाई सोही घर (तुल बहादुरकै)मा किरिया बसाल्ने कोसिस भयो तर दाई (तुल बहादुरका जेठा छोरा लोक बहादुर)ले घर त के बारिको कतै ठाउँ पनि दिनुभएन ।’ छोरी नन्दाले भनिन्, ‘नौ दिनबाट यही भवनमा किरिया गर्नुभएको छ ।’ उनले आफुले पनि बुवाको ठाडो किरिया यही भवनबाट गरेको बताइन् । तिहारमा नन्दाले लोक बहादुर र धन बहादुरलाई भाइटिका समेत लगाइदिने गरेको उनले सुनाइन् । पवीलाई घरमा काजकिरिया गर्न नदिएपछि छिमेकीले न्यायको लागि जिल्ला प्रशासन कार्यालय धाए । तर प्रशासनले अदालती प्रक्रियाभन्दा गाउँमै मिल्न आग्रह गरेको स्थानीय सुनिल थापा बताउछन् ।
त्यसपछि छोरी नन्दाले मदाने गाउँपालिकाको न्यायीक समितिमा आमालाई घरमै काजकिरिया गराउन माग गर्दै निवेदन दिइन् । गाउँपालिकाले नन्दाकै पक्षमा निर्णय गर्दै लोक बहादुरको परिवारलाई पवीलाई किरिया गर्न दिन भन्दै निर्णय ग¥यो । पालिकाको लेटर प्याडमा लेखिएको चिठि बोकेर पालिकाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, गाउँका बुद्धिजिवी, राजनीतिक दलका नेता मंसिर १५ गते लोक बहादुर (मृतकका छोरा)को परिवारमा पुगे ।
उनीहरुलाई पवीलाई पनि उनकै घर वा जग्गामा किरिया गर्न दिन भनेर सम्झाए । तर ‘मुर्खको अगाडी दैवको के लाग्थ्यो ?’ भनेझैँ लोक बहादुर र उनका भाई धन बहादुरले कसैको कुरा मानेनन् । अन्तत कसैको केही नलागेपछि तुल बहादुरको शेयर सदस्य रहेको अमरदिप बहुउदेश्यीय सहकारी संस्थाको भवनमा किरिया गराएको स्थानीय पार्वता कुँवरले बताइन् ।
तुल बहादुरकी श्रीमती पवी नै प्रमाण
परिवारले आफ्नै घर÷जग्गामा काजकिरिया गर्न नदिएपनि पविको नागरिकतामा श्रीमान तुल बहादुर खत्री क्षेत्री कायम छ । ०४५ वैशाख २२ गते जारी भएको पवीको नागरिकता नम्बर समेत १०९७९ रहेको छ । त्यसैगरी नन्दाको नागरिकतामा पनि बुवा तुल बहादुर नै उल्लेख छ । परिवारले काजगिरिया गर्न नदिएपछि छोरी नन्दा सम्पत्तिको हकको लागि अदालत जाने तयारीमा छिन् ।
पुर्कोट दह, हुलाक कार्यालयका प्रमुख समेत रहेका तुल बहादुरका जेठा छोरा लोक बहादुरले व्यवहारिक रुपमा आफुले पवीलाई आमा मान्न नसकिने प्रतिक्रिया दिए । पवीको श्रीमान र नन्दाको बुवा तुल बहादुर कायम गरी बनाइएको नागरिकताबारे आफ्नो परिवार अनविज्ञ रहेको उनले बताए । उनले पालिकाले समेत हचुँवाको भरमा निर्णय गरेर घरमा पत्र ल्याएको आरोप लगाए ।
महिलामाथि अन्याय ः स्थानीय
पवीले काजकिरिया गर्ने ठाउँमा स्थानीय थुप्रै महिला सान्त्वना दिन पुग्छन् । त्यसैमध्येकी एक तारा घिमिरेले लोक बहादुरका र उनका भाइले पवीमाथि अन्याय गरेको बताइन् । ‘पालिकादेखि स्थानीय सबैजनाले पवीलाई घरमै काजकिरिया गराउन आग्रह ग¥र्यौ ।’ उनले भनिन्, ‘यो त सरकारलाई नै चुनौती भयो, उहाँहरुले कसैको कुरा सुन्नुभएन ।’ अर्का स्थानीय शेर बहादुर कुँवरले लोकबहादुरको परिवारले पवीमाथि अन्याय गरेपनि उनी र छोरीमाथि सम्पत्तीको हकमा अदालतले न्याय गर्ने विश्वास व्यक्त गरे ।
हाम्रो केही लागेन, कानुनी उपचारमा सहयोग गर्छौ ः प्रमुख
मदाने गाउँपालिका प्रमुख महेन्द्र कुवँरले आफुले पटक–पटक लोक बहादुर र उनका भाइलाई पवीलाई घरमै किरिया गर्न दिन भनेर सम्झाएपनि उनीहरुले अटेर गरेको बताए । ‘धेरै कोसिस ग¥र्यौ तर मानेनन् ।’ उनले भने, ‘बिषय काजकिरिया भन्दा पनि अस्तित्वको हो, पवी र नन्दाको पक्षमा गाउँपालिकाले थप कानुनी उपचारमा सहयोग गर्छ ।’