प्रदिप भुसाल, गुल्मी
फोर्टिन स्टार युवा क्लवको आयोजनामा गुल्मी सदरमुकाम तम्घासमा संचालन भइरहेको माध्यमिक विद्यालय स्तरीय पुरुष फुटबल प्रतियोगिता ‘चौथो फोर्टिन स्टार कप–२०८०’ अन्तरगत आज आइतबार समुह चरण अन्तरगतका पाँच खेल भएका छन् । जसमा रेसुङ्गा मावि र जनसहयोग माविबीच भएको खेलमा २–१ गोलले जनसहयाेग माविले जित हात पारेको छ । दोस्रो खेलमा पालुखा मावि र पृथ्वी माविबीच भएको थियो ।
निर्धारित एक घण्टामा दुवै समुहले समान दुई÷दुई गोल गरेपछि खेल पेनाल्टीमा परिणत गरिएको थियो । जसमा पालुखा माविले जित हात पारेको छ । तेस्रो खेल रिडी मावि र मालिका माविबीच भएको थियो । निर्धारित एक घण्टामा कुनै पनि समुहले गोल गर्न नसकेपछि पेनाल्टीमा मालिका माविले जित हात पारेको छ ।
सिद्धबाबा मावि र देविस्थान माविबीच भएको खेलमा निर्धारित समयमा दुवै समुहले समान एक÷एक गोल गरेपछि पेनाल्टीबाट सिद्धबाबा माविले जित हाँसिल गरेको छ । त्यसैगरी अर्जुन इङ्गिस बोर्डिङ्ग स्कूल र उपल्लो तम्घास माविबीच भएको खेलमा ३–२ गोलले अर्जुन इङ्गिस बोर्डिङ स्कूलले जित हात पारेको छ । समुह चरणअन्तरगतको अन्तिम तथा भोली सोमबारको पहिलो खेल आदर्श विद्या आश्रम र भगवती माविबीच हुने आयोजक फोर्टिन स्टार युवा क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए । भोली नै दोस्रो चरणका तीन खेल हुनेछन् ।
जसमा जनसहयोग मावि र अर्जै मावि, रिडर्स पब्लिक हाइ स्कूल र भाडगाउँ मावि तथा गण्डकी इङ्गिस बोर्डिङ्ग स्कूल र महेन्द्र माविबीच प्रतियोगिता हुने महासचिव आचार्यले जानकारी दिए । प्रतियोगितामा कुल १९ विद्यालय सहभागि छन् । पौष ७ देखि १० गतेसम्म खेल संचालन हुने भनिएपनि विद्यालयको संख्या धेरै भएको कारण पौष १२ गतेमात्रै फाइनल खेल हुने आयोजकले जनाएको छ ।