बिहेभोजको सट्टा निःशुल्क स्वास्थ्य शिविर

हुमाकान्त पोखरेल, गुल्मी

पछिल्लो समय भड्किलो बिहे गर्ने प्रचलन बढिरहेको छ । त्यसैमाथि बिहे गरेपछि तामझामका साथ भोजभतेर लगाउने त प्रतिस्पर्धा नै चलेको पाइन्छ । तर गुल्मीका एक नव विवाहित दम्पत्तीले भने बिहेभोजको सट्टा गाउँमै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् । युटुवमार्फत चर्चा कमाएका संचारकर्मी रेसुङ्गा नगरपालिका –०३ भाडगाउँ निवासी मोहन बस्नेत दम्पत्तीले गाउँमै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका हुन् । उनले केही दिन पहिले रेसुङ्गा नगरपालिका–०२ निवासी सरु आचार्यसँग बिहे गरेका थिए ।

शनिबार उनले आफु जन्मिएको गाउँ भाडगाउँमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरे । शिविरमा चार सय बढीले सेवा प्राप्त गरेका छन् । जसमा ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, १०८ जनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाब जाँच र ६५ जना विद्यार्थीको रक्त समुह परीक्षण गरिएको शिविरका व्यवस्थापक भरत जंग क्षेत्रीले बताए । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका स्त्रीरोग विशेषज्ञ डाक्टर नविन तिवारी, कन्सल्टेन्ट फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग विशेषज्ञ डाक्टर अशिम रेग्मीसहितका डाक्टरले सेवा प्रदान गरेका थिए । उपचारको क्रममा सबैभन्दा धेरै सुगर र प्रेसरका बिरामी रहेका थिए । शिविरबाट गरिब र विपन्न परिवारले बढी फाइदा लिएका छन् ।

सुगर र प्रेसर जाँच गराउन आएकी भाडगाउँकी ७७ बर्षिया पम्फी विश्वकर्माले गाउँमै डाक्टर ल्याएर शिविरको अयोजना गर्ने बस्नेत दम्पत्तिलाई धन्यवाद् दिइन् । ‘नजिकको अस्पताल तम्घास जान पनि झण्डै एक घण्टा लाग्छ ।’ उनले भनिन्, ‘घरछेउवमै डाक्टरलाई जाँच गराउन पाएकोमा खुसि छु ।’


बिवाहको केही दिनपछि बस्नेत दम्पत्तीले उपल्लो तम्घास माविका बहिरा तथा सुस्तमनस्थिति भएका २७ बालबालिकालाई न्यानो कपडा समेत प्रदान गरेका थिए । संचारकर्मी बस्नेतले युवाहरुबाट समाज परिवर्तन सम्भव भएकोले आफुले बिहेभोजको सट्टा स्वास्थ्य शिविरको अयोजना गरेको बताए । ‘स्वास्थ्य शिविर राख्दा गरिब र विपन्न नगारिक बढी लाभाम्बित हुने देखे ।’ उनले भने, ‘अनुत्पादनशिल क्षेत्रमा रकम खर्च गर्नुहुँदैन ।’ उनले अन्य नव विवाहित दम्पत्तीलाई पनि सकेसम्म विवाहमा तडक–भडक नगर्न आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा