गुल्मी
गुल्मीमा महिलाहरुको निःशुल्क स्तन क्यान्सर जाँच गरिएको छ । रोटरी क्लव अफ रेसुङ्गा, गुल्मीको आयोजना र डिल्लीमाया मेमोरियल ब्रेष्ट क्यान्सर फाउन्डेशन, काठमाडौको विशेषज्ञ सहयोगमा शनिबार स्तन क्यान्सर जाँच गरिएको हो ।
सदरमुकाम तम्घासको बालमन्दिरमा सम्पन्न कार्यक्रममा २४८ जना महिला र दुई पुरुष गरी कुल २५० जनाले निःशुल्क रुपमा स्तन जाँच गराएका थिए । स्तन क्यान्सरसम्बन्धि स्वास्थ्य सचेतना प्रदान गर्ने र क्यान्सरको स्क्रिनिङ गरी शंकास्पद बिरामीलाई उपचारको दायरामा ल्याउने उदेश्यले स्तन क्यान्सर जाँच कार्यक्रमको अयोजना गरिएको रोटरी क्लव अफ गुल्मी, रेसुङ्गाका सचिव भागिरथ भण्डारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका उप–प्रमुख अमृता देवी कुँवरले स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रमको अयोजना गरेकोमा रोटरी क्लवलाई धन्यवाद् दिइन् । कार्यक्रममा गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरे, प्रहरी उपरीक्षक नविन किशोर प्रधान, विशेषज्ञ डाक्टर सञ्जय पाण्डे, संग्राम सार्दुल गुल्मका गुल्मपति अशोक खड्का, शसस्त्र प्रहरी प्रमुख संजिव कार्की, जिल्ला अनुसन्धान प्रमुख विनय चर्तुवेदी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।