गुल्मी । गुल्मीको शुभलक्ष्मी फर्मा, नेशनल प्याथ ल्याब र बुटबलको ग्लोरियस हेल्थ केयरले बार्षिक कार्यक्रमअन्तरगत विभिन्न सामाजिक व्यक्ति तथा संघ संस्था र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेका छन् । शनिबार गुल्मीको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य संस्थाहरुले अन्तरक्रिया एवमं सम्मान कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा समाजसेवी कृष्ण प्रसाद पोखरेल, बालिक आर्ट, इश्वर विश्वकर्मा, बरिष्ठ फिजिसियन डाक्टर हरी प्रसाद पन्थी, बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर दिपक अर्याललाई सम्मान गरिएको छ ।
त्यसैगरी पत्रकार महासंघ, ग्लोबल आइएमई बैंक, बाणिज्य बैंक, गरिमा विकास बैंक, रेडियो समृद्धि, रेडियो रेसुङ्गा, बी टेलिभिजन, लेकाली सहकारी, सिद्धार्थ इन्स्योरेन्स र मैत्री सहकारीलाई सम्मान गरिएको शुभलक्ष्मी फर्माका व्यवस्थापक राजेन्द्र विश्वकर्माले जानकारी दिए । तीनवटै संस्थाले विभिन्न १६ सूचनकको आधारमा कार्यसम्पादनमा उत्कृष्ट हुने कर्मचारीलाई सम्मान गरेका छन् । जसमा ग्लोरियस हेल्थ केयर बुटबलबाट अहेव पवित्रा नेपाली, नेशनल प्याथ ल्याबबाट लेखापाल निराजन अधिकारी र शुभलक्ष्मी फर्माबाट रविकान्त तिवारी सम्मानित भएको व्यवस्थापक विश्वकर्माले जानकारी दिए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उप–प्रमुख अमृता देवी कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । शनिबार बिहान शुभलक्ष्मी फर्माले गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा सरसफाई पनि गरेको छ ।
संस्थाका कर्मचारीहरुले रेसुङ्गा पोखरीदेखि यज्ञशाला हुदैँ भ्यू टावरसम्म सरसफाई गरेका हुन् । सरसफाईको क्रममा संस्थाले ३३ वटा डस्विन पनि रेसुङ्गा संरक्षण समितिलाई हस्तान्तरण गरेको शुभलक्ष्मी फर्माका अध्यक्ष होम बहादुर पल्लीले जानकारी दिए । रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाउँ हिड रेसुङ्गा’ अभियानलाई सहयोग पु¥याउने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको पल्लीले बताए । रेसुङ्गा क्षेत्रको सरसफाईसँगै प्रचार–प्रसार गर्न सके थुप्रै पर्यटक जिल्ला भित्राउन सकिने पल्लीको भनाई छ ।