हुमाकान्त पाेखरेल
गुल्मी, २४ पौष । गुल्मीका एक युवालाई दक्षिण कोरियामा उपचारका लागि आर्थिक समस्या परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिाथोकका राजेन्द्र पोखरेललाई उपचारमा समस्या भएको हो । देशमै रोजगार नभएपछि राजेन्द्र डेढ बर्षअघि कोरिया पुगेका थिए । तर उनको मुटुमा गम्भीर समस्या देखिएपछि उपचारको लागि कोरियाको ग्वागजु स्थित चोन्नम नेशनल युनिभर्सिर्टी अस्पतालमा छन् । चार महिनाअघि कोरियामै जाँच गराउदा उनमा मुटु रोगको समस्या पहिचान भएको थियो ।
त्यसपछि निरन्तर उपचार गराइरहेका पोखरेलको एक महिनापछि शल्यक्रिया गर्ने अस्पतालले मिति तोकेको थियो । तर उनको स्वास्थ्य अवस्था अझ गम्भीर बन्दै गएपछि बिहीबार शल्यक्रिया गर्न थालिएको कोरियामै रहेका उनका छिमेकी चिरन पोखरेलले बताए । हालसम्म उनको उपचार गर्न सात लाख खर्च भइसकेको छ भने अझै ३० लाख खर्च हुने अनुमान छ ।
तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले त्यति रकम जुटाउन सम्भव छैन ।
‘कमाएर पठाउने बेला श्रीमानलाई नै पैसा पठाउनुपर्ने भयो ।’ राजेन्द्रकी श्रीमती लक्ष्मीले भनिन्, ‘श्रीमानलाई बचाउने मन छ, तर पैसा छैन ।’ भएको केही रकम पनि सकिएको भन्दै लक्ष्मीले आफ्नो श्रीमानको जीवन बचाइदिन सबैसँग आग्रह गरिन् । ‘भएको रकम पनि सकियो, अब सबै भगवान भरोसा हो ।’ लक्ष्मीले भनिन्, ‘श्रीमान जीवन माग्नुहुन्छ, अस्पताल पैसा ।’ राजेन्द्रको आठ बर्षको छोरा रहेका छन् । राजेन्द्रलाई सहयोग गर्न चाहाने व्यक्तिहरुले ग्लोबल आइएमई बैंकमा उनको भाइ मदन पोखरेलको नाममा रहेको खाता नम्बर १०७०७०१००११८८४ मा रकम जम्मा गरी सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।