टोपलाल अर्याल,
गुल्मी २८ पुस
नेकपा एमालेको बैठकले जिल्लाको सन्दर्भमा महत्वपूर्ण केहि निर्णयहरु गरेको छ । गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकार्वाहीका सम्बन्धमा एमाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको र विकास निर्माणका काममा गरिएको ढिलासुस्ती, र कमजोर गुणस्तर सच्चाउन जोडदार माग गरिएको छ । सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा बढ्दो खरिदमा आधारित कमिशन खाने खेललाई सच्चाउन एमाले गुल्मीले चेतावनी दिएको छ ।
सरकारी निकायका वेथितिलाई पार्टीले निगरानी गरी यस्ता क्रियाकलापलाई नांगेझार पार्न पार्टी पंक्ति परिचालन हुने र जिल्लामा पर्यटकीय पूर्वाधार निर्माणलाई तिव्रता दिन तथा पर्यटकका लागि सुविधाहरु व्यवस्थित गर्नका लागि जोडदार माग गरेको छ ।
पर्यटकीय स्थलहरुको प्रवद्र्धनका कार्यक्रम संचालन गर्न, सिमीचौरको एयरपोर्टमा नियमित तथा थप उडानको व्यवस्था गर्न, गुल्मीमा आउने निर्माणाधिन सडकहरु अबिलम्ब पूरा गर्न, तथा जिल्लामा संचालित पर्यटकीय सेवा प्रदान गर्ने होटल व्यवसायलाई हतोत्साहित नभएर प्रोत्साहित गर्न जोडदार माग गरिएको एमाले सचिव गणेश श्रीपालीले बताए । त्यस्तै गुल्मी एमालेले बैठकबाट स्थानीय तह र सरकारी कार्यालयमा आर्थिक बेथिती बढेपछि नियन्त्रण गर्न एमाले गुल्मीले आफ्नो पार्टीले विजय हासिल गरेका पालिकाहरुमा भएका राम्रा अभ्यासलाई निरन्तरता दिन र बर्तमान समस्या समाधान गर्ने गरेर सुझाव दिने निर्णय एमालेले गरेको छ । भने फरक दलले जितेका स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपातलाई उजागर गर्ने निर्णय भएको छ ।
जसका लागि १० माघमा एकसाथ सुझाव तथा विरोधपत्र प्रस्तुत गर्ने निर्णय गरेको नेकपा एमालेका सचिव श्रीपालीले बताए । प्रशिक्षण बर्ष घोषणाको योजना त्यस्तै नेकपा एमाले जिल्ला कमिटी गुल्मीले पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला र सबैपालिका र सम्पर्क मन्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडा स्तरका प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको छ । प्रशिक्षणको लागि विषयवस्तु पार्टीको स्कुल विभाग संयोजनमा निर्धारण गरी पठाउने र प्रशिक्षणका लागि प्रदेश तथा केन्द्रीय जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
यसका साथै जनसंगठनका पालिकासम्मका प्रशिक्षण फागुनभित्र संचालन गर्ने र वडा तथा जनसंगठनका प्रशिक्षण फागुनभित्र सकेर यो वर्ष ०८० लाई प्रशिक्षण वर्षका रुपमा घोषित गर्ने निर्णय गरेको पार्टी सचिव गणेश श्रीपालीले जानकारी दिए । उनका अनुसार जिल्ला पार्टीका विभागहरुको बैठक फागुन १५ भित्र सम्पन्न गर्ने, यसवर्ष पार्टी सदस्यता नवीकरण चैतमहिनाभित्र सक्ने गरी तयारी गर्ने र फागुनबाटनै सदस्यता नवीकरणको काम सुरु गर्ने समेत निर्णय गरिएको छ ।
बैठकले जिल्ला पार्टीको निर्णय अनुसार संचालित प्रशिक्षणमा प्रशिक्षण दिने पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव तथा पार्टी स्कुल विभागका प्रमुख प्रदीप ज्ञवाली, पोलिटब्यूरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य कमरेडहरु लक्ष्मण ज्ञवाली, रचना खड्का, दिनेश पन्थी, जंग नेपाली, गणेश खनाल, राजेन्द्र अर्यालसहितका विभिन्न संगठन र संचार माध्यमलाई धन्यवाद दिने निर्णय गरेको छ ।