गुल्मी : माघेसंक्रान्तिको अवसरमा गण्डकी स्नान गर्नेहरूले रुरु बगर भरिएको थियाे । रुरुलाई नेपालका चार धाममध्येको एक मानिन्छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गर्नेहरूले बगर खचाखच थियाे । तर, देशकै प्रतिष्ठित मेला स्थानीय तहहरूको प्रतिष्ठाको लडाइँका कारण विभाजित बन्न पुग्याे ।
स्थानीय तह पहिले रुरु क्षेत्र विकास समिति थियो । जसले तीन जिल्ला समन्वय गरेर एकीकृत रुरु मेला व्यवस्थापनको काम गर्थ्यो । तर, स्थानीय तहपछि तीन जिल्लाले आ-आफ्नै बगरमा कार्यक्रम गर्न थालेका छन् । स्थानीय सरकार आएपछि आन्तरिक स्राेतको कारण रुरु क्षेत्र विकास समिति चेपुवामा परेपछि अहिलेको अवस्था आएको तानसेन नगरपालिका– १४ का वडाध्यक्ष शोभाखर भट्टराईले बताए ।
‘स्थानीय सरकारको नदीजन्य पदार्थ उत्खनन मोहले रुरु क्षेत्र कुरूप बन्यो । स्थानीय तहबीच धामको व्यवस्थापनभन्दा पैसामा ध्यान छ,’ उनले भने, ‘एकीकृत मेला व्यवस्थापनमा जोड गरे पनि हुन सकेन ।’ रुरु मेलामा गुल्मीतर्फ व्यापारिक स्टलहरू धेरै छन् । सांस्कृतिक तथा कृषि प्रदर्शनी गरिएको छ । पाल्पामा ऋषिकेश मन्दिर भएकाले गण्डकी नुहाएपछि दर्शनार्थीले दर्शन गर्छन् । स्याङ्जातर्फ भलिबल, स्थानीय कला संस्कृतिको प्रदर्शनी र कलाकारहरूको छुट्टै कार्यक्रम भइरहेको छ ।
मेला एकीकृत नभएकोमा स्थानीयसमेत खुसी छैनन् । रुरुका अगुवा व्यवसायी सुन्दर कसजूले रुरु धामको विकास र मेलाको सबैलाई अपनत्व महसुस गराउन तीनवटै जिल्लाको एकीकृत कार्यक्रम हुनुपर्नेमा जोड दिए । फरकफरक कार्यक्रमले व्यवस्थापन लागत बढी हुने, दर्शनार्थीको भावनामा चोट पुग्ने र सिमानाको विवाद बढ्ने भएकाले जिल्ला तथा पालिका तहबाट एकीकृत रुरु मेला आवश्यक रहेको कसजूले बताए ।
रुरु धाम तीन जिल्लाको संगम मात्रै नभएर देशको गौरव भएकाले एक–एक सय मिटरको फरकमा उस्तै कार्यक्रम गरेर नौटंकी गर्न नहुने लामो समय रुरु मेलाको उद्घोषण गरिरहेका सञ्चारकर्मी भुवन भुसालले बताए । रुरु धाममा तीन जिल्लाको प्रतिष्ठाको लडाइँले भक्तजनमा समेत नराम्रो प्रभाव परेको भुसालले बताए ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले तीन जिल्लाको संगमस्थल भएकाले जिल्लागत समन्वय अभाव भए पनि स्थानीय वडा र पालिकासँग समन्वय गरेर सुरक्षा व्यवस्थालगायतका प्रबन्ध राम्रो गरिएको बताए । ‘रुरु धामको समग्र मेला नै एकीकृत गर्न सकिएन । तर, आ-आफ्नो जिल्लाबाट व्यवस्थापनमा कुनै कसुर बाँकी छैन,’ उनले भने, ‘वडा र पालिका तहमा छलफल गरेका हौँ ।’
गण्डकी स्नान गर्नेको लर्को
सत्यवती गाउँपालिका– १ का ७६ वर्षीय नूरदेव पाण्डेय सधैँ गण्डक स्नान गर्न आउँछन् । उनले वर्षमा एकपटक भए पनि गण्डकी पुगेर ननुहाए जीवन अपूरोजस्तो हुने बताए । ‘१०–११ वर्षको हुँदाबाट गण्डकी नुहाउन रुरु आएको सम्झना छ । वर्षमा एकपटक नआए जीवन अधुरो भएको महसुस गर्छु,’ उनले भने, ‘अहिले धार्मिक आस्थाका कारणभन्दा रमाइलोका लागि धेरै आएको देखेँ ।’
रुरु नेपालका चार धाममध्येको महत्वपूर्ण एक धाम हाे । कालीगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गरेमा सबै पाप नास हुने धार्मिक जनविश्वास रहेको ऋषिश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्शुराम भट्टराईले बताए । जिल्लाका धार्मिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरूमध्येको रुरुसँग पनि प्राचीनकालका थुप्रै कुरा जोडिएका छन् ।
देवदत्त ऋषिले तपस्या गरेको, उनको तपस्या प्रम्लोचाना गरेकी अप्सराले भंग गरेको, देवदत्त र प्रम्लोचाबाट रुरु कन्याको जन्म भएकोजस्ता धार्मिक कथनहरू रुरुसँग जोडिएका छन् । यी विषयलाई स्कन्दपुराण, बराहपुराण, उपनिषेदलगायतका धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । अहिले रुरुमा नुहाएर ऋषिकेशको मन्दिरमा दर्शन गरेमा धर्म प्राप्त हुने र सबै किसिमका ऋणहरू तिर्न सकिने धार्मिक विश्वास रहेको भट्टराईले बताए ।
संकटमा हस्तकलाको व्यापार
रुरु मेला ५ माघसम्म सञ्चालन गरिन्छ । रुरु मेला व्यापारका दृष्टिकोणले समेत प्रख्यात मानिन्छ । व्यापारको लागि स्थानीयदेखि अर्घाखाँची, पाल्पा, रुकुम, रोल्पालगायत छिमेकी जिल्लादेखि भारतीय व्यापारीसमेत रुरु आउँछन् । रुकुमेली काम्लो, रोल्पाको घाँजी र बागलुङका बाँसका सामग्रीले रुरु बगर भरिभराउ हुन्छन् । जाडो मौसममा ज्यादै न्यानो र गुणस्तरीय हुने भएकाले काम्लोको व्यापार राम्रो हुने रुरुमा पछिल्लो समय रेडिमेट कपडाले स्थान पाउन थालेको छ ।
ऊनका कपडामा धेरैको ध्यान पुग्दैन । किनकि बलियो भएकाले महँगाे पर्छ । तर, काम्लो बुझेकाले किन्न छुटाउँदैनन् । आफूले ४० वर्षदेखि रुरु मेलामा खरिद गरेका काम्लोबाहेक केही प्रयोग नगर्ने मदाने गाउँपालिका- ४ का ६८ वर्षीय केदार केसीले बताए । जुम्ला कनकासुन्दरी गाउँपालिका- ७ का ६२ वर्षीय गोरबहादुर कार्की २५ वर्षदेखि ऊनबाट बनेका राडीपाखी, काम्लो, स्वीटर, च्यादर र कम्बललगायतका सामग्री बोकेर रुरु मेलामा आउँछन् । यो उनीहरूको पुर्ख्यौली र मुख्य आम्दानी हुने पेसा हो ।
प्रत्येक घरमा ऊनका सामग्री बन्छन् । जुम्लासहित हुम्ला र मुगुबाट ऊन खरिद गरेर सामग्री बनाउनुपर्छ । हातको काम भएकाले एक सेट राडीपाखी बनाउन हप्ता दिन लाग्ने भएकाले दु:ख र मूल्य बढी पर्छ । त्यसैले माल बुझेकाले मात्रै काम्लो खरिद गर्ने गरेकाे कार्कीले बताए ।
बागलुङ बडिगाड गाउँपालिका– ४ जलजलाका ४५ वर्षीय खगेन्द्र विश्वकर्मा बाँसबाट एक दर्जन सामग्री हातले नै बनाउँछन् । रुरु मेलामा तीनै सामग्री बिक्री गर्न रुरु बर्सेनि आउँछन् । तर, खर्च पनि नउठ्ने अवस्थाले मौलिक पेसा संकट पर्नेमा उनीहरूलाई चिन्ता परेको छ ।
साभार ः टोपलाल अर्याल, नयाँ पत्रिका